२०८३ बैशाख ३१ , बिहिवार

भ्रष्टाचार अवधारणा सूचकांक : नेपालले १ अंक बढी पायो

Capture

सुनाखरी न्युज / काठमाडौं ।
व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा रहेको नेपालले यो वर्ष त्यसमा झिनो सुधार गरेको छ । भ्रष्टाचार सम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको छ ।

गत वर्ष ३४ अंक पाएको नेपालले यसपटक ३५ अंक पाएको छ । एक अंक बढी ल्याएका कारण नेपाल सुशासन हुने मुलुकहरुको बरियता क्रममा दुई अंक अगाडि आएको छ । गत वर्ष ११० औ स्थानमा रहेको नेपाल यसपाली १०८ औ स्थापनमा पुगेको छ ।

५० अंकभन्दा कम स्कोर गर्ने मुलुकहरुलाई सुशासनको क्षेत्रमा समस्या युक्त रुपमा चित्रण गरिन्छ । ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरु गम्भिर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ । यसपाली सबै मुलुकहरुको औसत अंक ४३ छ । राजनीतिमा हुने भ्रष्टाचारको मापनमा नेपालको अवस्था सुध्रिएकाले नेपालले झिनो अंकमा प्रगति गरेको हो ।

१८० देश सम्मिलित सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएको छ ।सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँदछ ।