
सुनाखरी न्युज/ काठमाडौं ।
पश्चिम तराईका थारू समुदायमा यतिबेला माघीको रौनक छाएको छ । माघे सङ्क्रान्ति थारु समुदायले एक महान पर्वको रूपमा लिने गर्दछ । यसदिन घरमा पूजा गरी मिठो परिकारसँगै घिउ, चाकु, तरुल खाने चलन छ । माघ १ गतेदेखि शुरु हुने सप्ताहव्यापी यो पर्वमा थारू समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेका छन्।
थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्षको अवसरमा आजदेखि टुँडीखेलमा महोत्सव आयोजना गरेका छन् ।आज थारु समुदायले काठमाडौंको बसन्तपुरमा माघी गीत गाउँदै बाजागाजाका साथ नाच्दै र्याली निकालेको छ । र्याली वसन्तपुरबाट निस्किएर रत्नपार्क, भद्रकाली हुँदै टुँडिखेलमा पुगेको थियो । टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।माघीका अवसरमा थारू संस्कृति झल्कने नृत्यले गाउँघर गुञ्जयमान हुने गरेको छ । गाउँ थारू बस्तीमा युवायवती माघीमा मघौटा, सखिया र हुरदङ्गा नाच नाच्ने गर्छन् । माघे सङ्क्रान्तिको अघिल्लो दिन आजथारू समुदायमा जिता मार्ने अर्थात् सामूहिक रुपमा सुँगुर, बङ्गुर मारेर खाने गरिन्छ । आज रातभर जाग्रम बसेर भजन कीर्तन गर्ने चलन छ ।
भोलि माघीका दिन बिहानै नजिकैको खोला नदीमा गएर नुहाउने गरिन्छ । नुहाएपछि आफूभन्दा ठूला मान्यजनसँग आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ । थारू समुदायले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्यहरु सबै आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिन्छ । माघीमा गाउँका सबै जना जम्मा भएर वर्षदिनका लागि बड्घर अर्थात गाउँको अगुवा, चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ ।
थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा महोत्सव मनाइएको हो ।नयाँ यामको सुरुवात र यसै दिनदेखि उभौली सुरु भई साउने सङ्क्रान्ति समापन भई सोही दिनदेखि उँधौली सुरु हुने प्रचलन छ। यस चाडमा चेलीहरूले मुलको पानी र जमरा स्वरूप जौको फूल लिएर घरको धुरी र खाँबोमा पूजा गर्ने गर्दछन् । आज भृकुटीमण्डपमा भेला भई मगर सांस्कृतिक पहिरनमा सजिएर मगर समुदायले टुँडिखेलमा गई माघी मनाएका छन् ।


