२०८३ श्रावण ३० , शनिवार

श्रमदानमा सुर्मापछि मष्टा गाउँपालिका

Capture

सुनाखरी न्युज / काठमाडौँ ।
साउनको पहिलो औँसीदेखि पूर्णिमासम्म लाग्ने सुर्मादेवी मेलाको अवसरमा बाटो निर्माणमा सयाँैको सङ्ख्यामा श्रमदानमा जुट्यो । सुर्मा गाउँपालिकाले आह्वान गरेको श्रमदान अभियानले घोगाडा–दौलीचौर हुँदै पागरगढीसम्मको करिब १० किलोमिटर बाटो निर्माण ग¥यो ।

सार्वजनिक कामका लागि पालिकाले आह्वान गरेपछि जहिल्यै स्थानीयहरू स्वतःस्फूर्तरूपमा आउने गरेको गाउँपालिका अध्यक्ष खड्कबहादुर बोहराले बताउनुभयो । उहाँका अनुसार सार्वजनिक कामका लागि एक घरबाट एक जना अनिवार्य आउने गरेका छन् । धारा, पँधेरा, बाटोघाटो, विद्यालयजस्ता सार्वजनिक कामका लागि पालिकाले आह्वान गर्दा स्थानीय सजिलै आउँछन् । “त्यसमा पनि धार्मिक कामका लागि श्रमदान गर्नुपरेमा त जनलहर नै आउने गर्छ”, उहाँले भन्नुभयो ।

सुर्मा गाउँपालिका–१ का अध्यक्ष दिनेश बोहराले पनि सुर्माका हरेक गाउँमा स्थानीयले आवश्यकताअनुसार श्रमदान गर्ने गरेका छन् । “श्रमदान गर्न सबै ठाउँमा पालिकाले आह्वान गर्नुपर्छ भन्ने हुँदैन”, उहाँले भन्नुभयो, “गाउँमा केही सामूहिक काम पर्दा स्थानीय आफैँ सक्रिय हुनुहुन्छ । सुर्मादेवीको सेवाका लागि त झनै जनलहर उर्लेर आउँछ ।”

गत सातादेखि मष्टा गाउँपालिकाले पनि श्रमदान अभियान सुरू गरेको छ । पालिकाले जनप्रतिनिधिसहित स्थानीयले महिनामा कम्तीमा पनि दुई दिन अनिवार्य श्रमदान गर्ने निर्णय गरेको हो । गाउँपालिकाभित्र निर्माण भइरहेका संरचनामा १० प्रतिशत श्रमदान अनिवार्य भने पनि पालिकाले स्थानीयलाई महिनामा दुई पटक ‘श्रमदान महाअभियान’ कार्यक्रम अघि सारेको हो ।

गत हप्तादेखि मष्टा गाउँपालिकाका जनप्रतिनिधिले स्थानीयसँगै खेलमैदान निर्माणमा जुटेसँगै श्रमदान महाअभियान सुरू गरेका हुन् । गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले आफ्नो गाउँ आफैँ बनाउ भन्दै श्रमदानमा जुटेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाबाट निर्माण हुने योजनामा १० प्रतिशत अनिवार्य जनसहभागिता भए पनि धेरैजसो योजनामा शून्य सहभागिता हुने गरेको र आफ्नो ठाउँ बनाउन सबैलाई जुटाएका हौँ । अब यो क्रम निरन्तर चल्नेछ ।”

कुनै योजनामा ३० प्रतिशतसम्म अनिवार्य जनसहभागिता (जनश्रमदान) गर्ने भनिए पनि व्यवहारमा नआएको हुँदा सुरुआत गर्नुपरेको उहाँले बताउनुभयो । “श्रमदानले योजनाप्रति स्थानीयको अपनत्व हुन्छ । श्रम संस्कृतिकोसमेत विकास हुन्छ भनेर मासिक दुईपटक सुरु गर्ने तयारी गरेका छौँ ।”पछिल्लो समयमा मान्छेहरू श्रमदान गर्ने संस्कार विस्तारै हराउँदै गएकाले कुनै पनि योजनामा सामान्य मर्मत गर्नुपर्ने भए पनि योजना नै ताकेर बस्ने चलन भएको उहाँले बताउनुभयो । कुनै योजनामा पनि एक दुई दिनसम्मसमेत श्रमदान नगर्ने भएकाले स्थानीयलाई उत्प्रेरणा दिएर श्रम संस्कृतिको जग बसाल्न यो अभियान सुरु गरेको उहाँले बताउनुभयो ।

“मष्टाको खेलमैदान निर्माणका लागि रु २० लाख लाग्ने देखिन्छ”, अध्यक्ष बोहराले भन्नुभयो, “खेलमैदान निर्माणमा हामी कम्तीमा पनि ३० प्रतिशत जनश्रमदान गर्नेछौँ । दक्ष प्राविधिक शुल्क, सामग्री खरिद र ढुवानीका लागि चाहिने खर्चबाहेक बाँकी सबै श्रमदान गर्ने तयारी छ ।”

खेलमैदान निर्माणका लागि प्रदेशबाट रु आठ लाख र गाउँपालिकाको स्वरोजगार कार्यक्रममार्फत रु पाँच लाख रकम छुट्याइएको छ । बाँकी रु १३ लाख बराबरको श्रमदान गर्ने उहाँले बताउनुभयो । “गाउँपालिकाभरि हरेक महिना दुई पटक श्रमदान गरेर विद्यालय निर्माण, खानेपानी, बाटोघाटो, सामुदायिक भवन निर्माण, विद्यालय तथा स्वास्थ्य चौकीका भवन निर्माणका काममा जनप्रतिनिधिसहित स्थानीयलाई आग्रह गरेका छौँ ।”  रासस