
सुनाखरी न्युज/ काठमाडौं ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट भएको घर र बालीको आज निरीक्षण गर्नुभएको छ ।
गएराति स्थानीय विन निरौला र तीर्थ दाहालको घरमा हात्तीले क्षति पुर्याएको थियो । झापा, मोरङ र सुनसरी विभित्र स्थानमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा दुई, सुनसरी र मोरङमा एक/एकजना गरी चारजना सर्वसाधरणको मृत्यु भइसकेको छ ।
बेलबारी १० भाउत्रेस्थित १० बिगाहाभन्दा बढी क्षेत्रमा लगाइएको मकै, केरालगायत बालीलाई हात्तीले क्षति पुर्याएपछि मुख्यमन्त्री कार्कीले सो क्षेत्रको निरीक्षण एवं अनुगमन गर्नुभएको हो ।हात्तीको आक्रमणबाट किसानलाई ठूलो क्षति भएको बेलबारी–१० का वडाअध्यक्ष गङ्गाबहादुर याखाले बताउनुभयो । निरीक्षणका क्रममा मुख्यमन्त्री कार्कीले हात्तीलाई दिउँसोभन्दा रातको समयमा मानव बस्ती पस्न नदिन र नियन्त्रणमा राख्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले २७ वटा हात्तीको हूलले मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पुर्याएको बताउनुभयो । रासस