
किरण गिरी । हिन्दू धर्मशास्त्रमा धन्वन्तरिको परिचय महान चिकित्सक भएकोले ‘देव’ पद पाएका वा भगवान विष्णुकै अवतार मानिएका आदिम् महान व्यक्तिको रुपमा पाईन्छ ।
पौराणिक वर्णनमा देवता र दानब मिलेर सुमेरु पर्वतलाई मदानी र कर्कट नागलाई नेती बनाएर समुद्र मन्थन गर्दा १४ सम्पदा– शरद पूर्णिमामा चन्द्रमा, कार्तिक द्वादशीमा कामधेनु गाई, त्रयोदशीका दिन धन्वन्तरि, चतुर्दशीमा कालीमाता र कार्तिक औंसीका दिन देवी लक्ष्मीलगायत कल्पवृक्ष, हलाहल विष आदि पनि प्रकट भए । भगवान धन्वन्तरीको यही जन्मलाई धनतेरसको रूपमा मनाउने गरिएको हो । यसै दिन उनले आयुर्वेदको सूत्रपात गरे ।भगवान धनवन्तरीलाई विष्णुकै अवतारको रूपमा मानिन्छ। धननवन्तरी प्रकट भएको उपलक्ष्यमा धनतेरस पर्व मनाइएको हो धन्वन्तरि वंशमा दिवोदास नामक वैद्य थिए, जसले काशीमा विश्वकै पहिलो ‘शल्य चिकित्सा’ (सर्जरी) को विद्यालय स्थापित गरे रे ! सो विद्यालयका प्रधानाचार्य ‘सुश्रुत’ नामक पहिलो सर्जन थिए । सुश्रुतको बारेमा मैले यसअघि एक विहान प्रस्तुत गरेको छु । सुश्रुत दिवोदास कै शिष्य र ऋृषि विश्वामित्रका छोरा थिए । उनैले लेखेको हो ‘सुश्रुत संहिता’ ।
तिहारको कार्तिक त्रयोदशी (धनतेरस) मा खासगरी आयुर्वेद विधाका चिकित्साकर्मीहरूबाट भगवान धन्वन्तरिको पूजा हुन्छ । समुद्र मन्थन गर्दा नै प्रकट भएको हलाहल विष भगवान शंकरले पिएर पृथ्वीलाई बचाएका थिए, धन्वन्तरिले शंकरलाई अमृत खुवाए । यिनको प्रिय धातु पित्तल मानिएको हुनाले तिहारको मौसममा पित्तलका भाँडाकुँडा किन्नु शुभ हो भन्छन् धर्मगुरू हरु । पञ्चकको प्रारम्भ (कार्तिक कृष्ण त्रयोदशी) धनतेरसमा दीपावली आगमन को पूर्वसूचक यस दिन सून, चाँदी, पित्तल वा ताम्वाका कुनै भाँडाकुँडा किन्नुलाई एकदमै शुभसूचक मानिन्छ। यस दिन मृत्युका देवता यमराज र भगवान धनवन्तरिको पूजाको महिमा छ । परम्परागत चेतना तथा संस्कृतिमा स्वास्थ्यको स्थान धनभन्दा महत्वपूर्ण मानिन्छ । भनाईनै छ, “पहिलाे सुख निरोगी काया, दोस्रो सुख घरमा माया” ।
त्यसकारण आजको दिन समुद्रमन्थनद्वारा पौराणिक आयुर्वेदविज्ञ (चिकित्सक) धन्वन्तरीको उत्पत्तिलाई स्वास्थ्यरक्षा दिवसको रूपमा मनाईन्छ। धन सम्पत्तिका देवता कुबेर को लागि घरको पूजास्थलमा दीयो बाल्ने र मृत्युका देवता यमराजको लागि पनि मूलढोकामा बत्ती बालेर पूजा गरिन्छ । धन्वन्तरी जयन्ती; दीपावली एवं म्ह:पूजाको पावन उपलक्ष्यमा सबै आदरणीय दिदिबहिनी , दाजुभाइ मा सप्रेम शुभकामना व्यक्त गर्दछु ।
किरण गिरी – नेपाली कांग्रेसका निबर्तमान केन्द्रिय सदस्य एबं महासमिति सदस्य हुन ।