
सुनाखरी न्युज / काठमाडौं ।
चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले कारबाही गरेको छ । दसैंका लागि घर फर्किने यात्रुहरूसँग बढी भाडा लिनसक्ने भन्दै कार्यालयले विभिन्न ठाउँमा छड्के चेकपोष्ट राखेको छ।तीन वटा गाडीमा सवार ७० यात्रु ठगीमा परेपछि ट्राफिक प्रहरीले चालकबाट बढी भाडा असुल गरी यात्रुलाई फिर्ता गराएको हो।
७० पीडितलाई जम्मा २१ हजार ८०० रुपैयाँ फिर्ता गराइएको पनि कार्यालयले जनाएको छ। काठमाडौंबाट गुड्ने लामो दूरीका सवारी साधनलाई केन्द्रित गर्दै ट्राफिक प्रहरीले चेकिङ गर्दै आएको हो। सोमबार र मंगलबार गरी काभ्रे ट्राफिक प्रहरीले तीन वटा बसलाई कारबाही गरेको प्रहरी निरीक्षक जनार्दन घिमिरेले जानकारी दिए।
तीन वटै बस काठमाडौंबाट झापाका लागि गुडेका बस हुन्।विभिन्न स्थानका लागि छुटेका सवारीसाधनलाई रोकी कति भाडा लिएको छ भनी यात्रुसँग सोध्दा बढी भाडा लिएको बताएपछि तोकिएको भाडाभन्दा बढी रकम फिर्ता गर्न लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।