
सुनाखरी न्युज/ पोखरा । सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको कास्की बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष सुदिप ढकालले उद्घाटन गर्नुभयो । कार्यक्रममा ढकालले सहकारीमा आर्थिक अनुशासन जरुरी रहेको बताउँदै केही व्यक्तिका कारण सहकारी क्षेत्रलाई बदनाम गर्न खोजिएको बताउनुभयो । सहकारीमा बाहिर प्रचार भएजस्तो धेरै समस्या नरहेको बताउँदै उहाँले बचतकर्ताहरू हल्लैहल्लाको पछि लाग्न नहुनेमा जोड दिनुभयो । सहकारीका अध्यक्ष टीकाराम सापकोटाले सदस्यहरूले गरेको विश्वासलाई आगामी दिनमा पनि कायमै राख्न अनुरोध गर्दै स्थापित सहकारीका रुपमा विकास गर्ने गरी आँफूहरू सकृय रहेको बताउनुभयो । विश्वव्यापी देखिएको आर्थिक संकट एवम् विश्व बजारमा देखिएको तरलताको संकुचनमा पनि सहकारीलाई सहयोग गर्नुहुने सबैमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
साधारणसभामा सहकारीका सचिव सोमबहादुर थापालमगरले वार्षिक प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष लिला भट्टराईले आर्थिक वर्ष २०७९÷८० को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८०÷१ को प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा व्यवस्थापक गिरीधारी ढकाल, लेखा सुपरिबेक्षण समितिका इश्वरीप्रसाद पौडेल, ऋण उपसमितिका जीवनराज सापकोटा, सहकारीका सल्लाहकारहरू विष्णुबहादुर गुरुङ, बच्चुराम तिवारी, गणेशबहादुर भट्टराई, डम्बरबहादुर केसी लगायतले बोल्नुभएको थियो ।
सहकारीका अध्यक्ष टीकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमका्े सञ्चालन सचिव सोमबहादुर थापामगरले गर्नुभएको थियो । सहकारीमा हाल दुई हजार ६२५ जना शेयर सदस्य रहेका छन् भने छ करोड आठ लाख २९ हजार रुपैयाँ शेयर पूँजी रहेको छ । १७ करोड ८० लाख ४४ हजार ३६० बचत एवम् निक्षेपका साथै तरलता ३६ प्रतिशत रहेको सहकारीले आर्थिक वर्ष २०७९÷८० मा १८ करोड ७९ लाख ६० हजार ३२३ रुपैयाँ लगानी गरिएको कार्यक्रममा जानकारी गराइयो ।