
सुनाखरी न्युज/ पोखरा । नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा यही भाद्र १८ गते पोखराको बुलौदी स्थितमा रहेको एकल, शारीरिक र मानसिक रुपमा भिन्न क्षमता भएका, हिंसा तथा दुर्व्यबहारमा परेका, सामाजिक र घरायसी हिंसामा परेका महिला, द्धन्द्धमा परेका महिला तथा पुरुष, चरम गरिवीमा परेका महिला र तिनबा बालबालिकाका लागि विगत लामो समय देखी काम गर्दै आएको कोपिला नेपाल संस्थाले सहयोग गरेका पिडितहरुलाई लत्ता कपडा तथा फलफुल बितरण कार्यक्रम सम्पन्न भएको छ ।
सेवा नै मुल धर्म हो भन्ने पवित्र भावनालाई आत्मसाथ गर्दै संघले उक्त संस्थामा रहेका ६५ जनालाई १/१ सेट लत्ता कपडा र फलफुल समेत बितरण गरेको हो । संघकी अध्यक्ष अनिता गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कोपिला नेपालकी अध्यक्ष बिन्दु कुमारी सिलुवाललाई श्रीमती संघका पदाधिकारीहरुले लत्ता कपडा र फलफुल हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रमकै अवसरमा कोपिला नेपालकी अध्यक्ष बिन्दु कुमारी सिलुवालले गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ प्रति आभार तथा धन्यबाद प्रकट गर्दै भावी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताउनुभयो ।