सुनाखरी न्युज/ काठमाडौं । जनैपूर्णिमाका अवसरमा आज काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकास्थित तेमाल नारायणस्थान, बनेपाको गोसाइँस्थान र रोशीको ताराखसे लेकमा विशेष मेला लागेको छ । रसुवाको गोसाइँकुण्ड जान नसक्नेहरुले यहाँका तीर्थस्थलमा पुगेर पूजा एवं दर्शन गर्दछन् ।
पर्वका अवसरमा विभिन्न समुदायका मानिस तेमालस्थित नारायणस्थानमा पुगेर सत्यनारायण मन्दिरको दर्शन गर्दछन् । सो क्रममा झाँक्री वेषभूषामा सजिएर ढ्याङ्ग्रो बजाउँदै विभिन्न स्थानबाट तेमालस्थित सत्यनारायणको मन्दिर दर्शन गर्ने प्रचलन रहेको छ । हिन्दू धर्मावलम्बीले जनैपूर्णिमा र बौद्ध धर्मावलम्बीले गोन ङ्हयाकारुपमा यस पर्व मनाउने गर्दछन् ।
पर्वका अवसरमा तेमाल गाउँपालिकाले बुधबारदेखि भोलि तीन दिनसम्म सार्वजनिक बिदा दिएको छ । पोखरी नारायणस्थानमा रहेको सत्यनारायणको मन्दिरमा लाग्ने जात्राका लागि पालिकाभरिका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिइएको पालिकाले जनाएको छ ।
तेमालमा सांस्कृतिक पर्वका रुपमा मनाइने जात्राको अवलोकनका लागि पालिकासहित आसपासका पालिका एवं छिमेकी जिल्लाबाट समेत दर्शनार्थी र भक्तजन उपस्थित हुने भएकाले तीन दिनसम्म सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकालले जानकारी दिनुभयो ।
त्यस्तै, बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लाग्ने जात्राका लागि आवश्यक तयारी भइसकेको गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाहले बताउनुभयो । परापूर्वकालदेखि लाग्दै आएको गोसाइँस्थान मेलामा बनेपा, धुलिखेल, पाँचखालसहित जिल्ला बाहिरबाट समेत दर्शनार्थीको घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो ।
रोशी गाउँपालिका–३ मा पर्ने ताराखसे लेकमा रहेको पोखरी आसपासमा पनि जनैपूर्णिमाका दिन मेला लाग्ने गर्दछ । यहाँ महाभारत, खानीखोला र रोशी गाउँपालिकाका नागरिक पुग्ने गर्दछन् । रासस