
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली भूभागलाई चीनले भारतको देखाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आउँदो सोमबारबाट हुन लागेको आफ्नो चीन भ्रमणमा रद्द गरेका छन् । शाहले केहि अघि चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालको नयाँ चुच्चे नक्सालाई हटाएर पहिलेकै बुच्चे नक्सालाई कायम गरेको उल्लेख गर्दै आफ्नो चीन भ्रमण नहुने सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतालाई चालेको गलत कदम मानेका छौं,’ शाहले टिप्पणी गरेका छन्,‘त्यसैले आज मेरो चीनको निमन्त्रणमा हुन गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’ शाहले नेपालले २०७७ जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको पनि फेसबुक पोष्टमा प्रष्ट पारेका छन् ।
चीनले भदौ ११ मा आफ्नो नयाँ नक्सा जारी गर्दा छिमेकमा नेपालको पुरानै नक्सा समेटेको हो । भारतले नेपालको नयाँ नक्सालाई स्वीकार गरेको छैन र नेपाली भूमिमा भारतीयहरु अझै बसिरहेका छन् । नेपालको नयाँ नक्सालाई भारतले स्वीकार नगरिरहँदा चीनले पनि भदौ ११ मा आफ्नो नयाँ नक्सामा सार्वजनिक गर्ने क्रममा छिमेकी देश नेपालको नक्सा भने पुरानै देखाएर बाहिर ल्याएको हो । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार उक्त नक्सा चीनको प्राकृतिक स्रोत मन्त्रालयले जारी गरेको हो ।
चीनले निकालेको नयाँ नक्साका सम्बन्धमा भने नेपाल सरकारले अहिले कुनै पनि प्रक्रिया नदिने जनाएको छ । परराष्ट्र स्रोतले भने पहिला चीनले निकालेको नक्साको सम्बन्धमा प्राविधिक रुपमा बुझेर मात्र अघि बढ्ने जनाएको छ ।
चीनले नेपालको सीमा सम्बन्धमा विवादास्पक कुरा बाहिर ल्याएको पहिलो पटक भने होइन । सन् २०१५ मा भारतका प्रधानमन्त्री मोदीको चीन भ्रमणमा दौरान भारत–चीन बीच भएको ४१ बुँदे सम्झौताको २८ औं बुँदामा ‘भारत र चीन लिपुलेक नाकाबाट सीमा व्यापार बढोत्तरीका लागि कामकुरो गर्न मञ्जुर भएका छन्’ भन्ने उल्लेख गरिएको थियो । नेपाली भूभागलाई भारत र चीन दुवैले नेपाललाई नै नसोधी उक्त सम्झौता गर्नु नेपालको संवेदनशीलतामाथि चालेको कदम हो । त्यस बेला नेपालले दुवै मुलुकहरु भारत र चीनलाई ‘प्रोटेस्ट नोट’ पठाएको थियो । जसको जवाफ दुवै देशले हालसम्म दिएका छैनन् ।