
सुनाखरी न्युज/ काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारको मुद्दामा आजदेखि पुनः सुनुवाइ हुने भएको छ। यसअघि साउन ३२ गतेदेखि निरन्तर सुनुवाई हुने भनिएपनि पीडितकी आमाको समेत दुईवटा जन्मदर्ता देखिएको भन्दै अदालतले उनको जन्ममिति यकिन गर्न आदेश गरेको थियो। त्यसको १० दिनमा मुद्दाको पुनः सनुवाइ हुने भएको हो।
सन्दीपले अघिल्लो सुनुवाइमा अदालतमा पेस गरेको पीडितको जन्म दर्ताको वैधानिकतामाथि प्रश्न उठेको छ। सन्दीप आफैंले पेस गरेको जन्मदर्ता कहाँबाट आयो भन्ने कुरा उनी आफैंलाई थाहा नभएको बताएका थिए। सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको टुंगो लगाउनु भनेपनि जिल्ला अदालत काठमाडौंमा लगातार सुनुवाइ हुनै सकेको छैन। गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।
जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस २८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।