
उजाड शिशिर/ पोखरा । साहित्यकार ईश्वरमणि अधिकारीको मुक्तक सङ्ग्रह ‘सम्बोधिका’को पोखरामा लोकार्पण भयो ।
एक दशकपछि साहित्यकार अधिकारीको मुक्तक संग्रह सम्बोधिकाको प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य एकेडेमिका पूर्व कुलपति सरुभक्त, साहित्यकार तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोईराला, विम्ब कवि रमेश श्रेष्ठ, दीपक समिप, सरस्वती प्रतिक्षा लगायतले लोकार्पण गरेका हुन्। सरुभक्तले साहित्यिक कृतिहरू समाजका ऐना तथा सामाजिक चेतनाका उपज भएको बताए । पोखरा मुक्तकको शहर हो । यहाँ मुक्तकका कर्महरू हुनु पनि स्वाभाविकै हो । सरुभक्तले भने, यस्ता असल कृतिहरू आइरहनु पर्छ ।
कृतिमा भएका सबै सिर्जना उत्कृष्ट हुनैपर्छ भन्ने छैन र हुन्नन् पनि तर एक दुईटा असल सिर्जना भए असल र कृति उत्तम भईहाल्छ उनले भने । विषय विज्ञताको हिसाब किताबमा लागेका विज्ञहरू साहित्य लेखनमा पनि उत्तिकै निपुण छन् भन्ने कुरा गणितका विज्ञ डा.अधिकारीको कृतिबाटै प्रष्ट भएको छ । श्रेष्ठले पछिल्लो समय प्रचलित रुवाई शैलीको लेखनमा मुक्तक आईरहेका भएपनि हाम्रो नेपाली धरातल, संस्कृत, यहाँको मौलिकता, ऋषि, वेद र पौराणिक विज्ञहरूलाई बुझ्न आवश्यक भएको बताए ।
साहित्यकार तिर्थ श्रेष्ठले मुक्तक मक्त हुन्छ । यो स्वतन्त्र हुने भएकोले यसको ढाँचा र भावमा स्वतन्त्रता हुन्छ । चार लाईनको हुनैपर्छ, तुक मिलेको हुनैपर्छ, काटकुट गरेको, कैचीले काटेको जस्तै हनुपर्छ भन्ने कुरा गलत भएको बताए । तर हुनुपर्ने चाहिँ भाव र चोटिलो प्रहार यसको गुण हो । अधिकारीका मुक्तकहरूमा रुवाईया शैली अपनाएकाे भएपनि अब्बल भएको बताए । उनले नेपाली मुक्तक लेखनमा आफ्नो संस्कार, संस्कृति, मौलिकता र पहिचानलाई अटाउनु पर्ने बताए ।
कृतिकार ईश्वरमणि अधिकारीले लामो अवधिमा लेखेर थन्किएका मुक्तकहरूबाट छानेर ‘सम्बोधिका’ प्रकाशन गरेको बताए । मैले सकेसम्म सत्यको र यथार्थ परिवेशलाइ अङ्गालेकाे छु। तर बेईमानीलाई अस्वीकार गरेको छु । उनले भने, मानिस सर्वगुणको हुँदैन । केही कमजोरी भएका छन् भने म आगामी दिनहरूमा सच्याउने बाचा समेत गरेका छन् ।
सो अवसरमा प्राज्ञ हरिदेवी कोईराला, विम्ब कवि रमेश श्रेष्ठ, दीपक समिप, सरस्वती प्रतिक्षा, जीवनसागर भण्डारी, संजिव पौडेल लगायतले बोलेका थिए ।१२१ पृष्ठको पुस्तकमा १११ वटा मुक्तक रहेका छन् । यसलाई पोखरेली युवा सांस्कृतिक परिवारले प्रकाशन गरेको हो । साहित्यकार ईश्वरमणि अधिकारीको यो चौथो कृति हो । यसअघि समयको तस्बिर नामक कविता संग्रह, हृदयको आलाप गजल संग्रह र एक हिमाल आरोहीको जिवनी प्रकाशन भइसकेका छन् ।
उपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष रीता अधिकारी ‘ऋतु’ले स्वागत तथा सचिव डा चैतन्य अधिकारीले सञ्चालन गरेका थिए । साहित्यकार अधिकारीले लामो समय रेडियो अन्नपूर्णमा साहित्यक कार्यक्रम पनि सञ्चालन गर्नुभएको थियो।