
सुनाखरी न्युज/ काठमाडौं ।
कैलालीको दक्षिणपूर्वी क्षेत्रका स्थानीय तहले छिमेकी पालिकासँग विकासका साझा योजनामाथि छलफल सुरु गरेका छन् । यहाँका स्थानीय तहले आवश्यकताका आधारमा अर्को पालिकासँग समन्वय गरी विकासका क्षेत्रमा साझा योजनाअन्तर्गत काम गर्ने उद्देश्यले छलफल अगाडि बढाएका हुन् ।
जोशीपुर गाउँपालिकाले भगिनी सम्बन्धकायम गरी विकासका योजनामा साझारुपमा काम गर्ने योजना कार्यपालिकाबाट निर्णय गरेको गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले बताउनुभयो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त विषय समावेश गरी सिमाना जोडिएका पालिकासँग समन्वय गर्दै संयुक्त योजनाको अवधारणा अगाडि बढाइएको उहाँले बताउनुभयो ।
“हाम्रा सझा एजेन्डा के हुनसक्छन् भन्ने विषयमा सामूहिक छलफल गरेर त्यसका लागि प्रक्रिया अगाडि बढाउने तयारी गाउँपालिकाले गरेको छ”, अध्यक्ष चौधरीले भन्नुभयो, “हामीले अहिले स्थानीय तहलाई पत्राचार गरिसकेका छौँ । सामूहिक विकासका योजनामा छलफल गरी अगाडि बढ्नेछौँ ।” टीकापुर नगरपालिकालाई स्वस्थ्य क्षेत्रमा समन्वयका गर्नका लागि पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकासँग रहेको एम्बुलेन्सको प्रयोगबाट यहाँका नागरिकलाई छिटो स्वास्थ्य सेवा दिन सकिने भएकाले गाउँपालिकाले समन्वयका लागि पत्राचार गरेको नगरप्रमुख रामलाल डगौरा थारुले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले टीकापुर विमानस्थललाई साझा योजनाका रुपमा अगाडि सार्ने तयारी गरेको छ ।
लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनका लागि छिमेकी पालिकासँग छलफलपछि निष्कर्ष निकालिने नगरप्रमुख थारुको भनाइ थियो । “अन्तरपालिकासँग समन्वय गर्न सक्ने योजनाका विषयमा हामीले आन्तरिकरुपमा योजना बनाइरहेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो प्रस्तावमा टीकापुर विमानस्थललाई अघि सार्ने योजना छ ।” विमानस्थल सञ्चालन भएको अवस्थामा यसबाट सबै लाभान्वित हुने उहाँले बताउनुभयो ।
विमानस्थल सञ्चालनका लागि स्थानीय तहका साथै प्रदेश र सङ्घ सरकारलाई पनि साझा कार्यक्रमका रुपमा प्रस्तुत गरिने नगरप्रमुख थारुले बताउनुभयो । अन्तरपालिकासँग यातायात सञ्चालन तथा पूर्वाधार निर्माण गर्ने, कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउने, पर्यटन क्षेत्रको सामूहिक विकासलगयतका योजनामा संयुक्त लगानी गरेर अगाडि बढ्न सकिने उहाँले उल्लेख गर्नुभयो ।
“एकलभन्दा सामूहिक योजना बन्यो भने त्यसबाट धेरै सेवाग्राहीले सेवा लिन सक्छन् । अर्कोतिर ठूलो बजेटबाट बन्ने संरचना नमुना बन्नसक्छ” नगरप्रमुख थारुले भन्नुभयो, “धेरै नभए पनि एक÷दुईवटा राम्रा योजनाको सुरुवात गर्न सके काम गर्न थप सहज हुने थियो ।”
भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले घोडाघोडी नगरपालिकासँगको समन्वयमा दुई पालिका जोड्ने सडक निर्माण भइरहेको बताउनुभयो । उहाँले स्थानीयलाई प्रत्यक्ष फाइदा हुने कार्यक्रममा समन्वय गरिने बताउनुभयो । “हामीले कुनै योजना बनाएका छैनौँ । कुनै स्थानीय तहले योजना ल्याउनुभयो भने हामी सकारात्मक रुपमा सहभागी हुनेछौँ”, उहाँले भन्नुभयो, “योजनालाई साझा बनाएर जाँदा अन्तरपालिका सम्बन्ध पनि स्थापित हुन्छ ।”
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले हालै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसारका काममा सामूहिक योजना अगाडि बढाइने बताउनुभयो । उहाँले उक्त कार्यक्रममा अन्तरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने विषय समावेश गरिएको बताउँदै योजना कार्यान्वयनको चरणमा आवश्यकताका आधारमा रणनीति बनाउने जानकारी दिनुभयो ।
“सबै कुरा एकैपटक हुँदैन । आवश्यकताको आधारमा अन्तरपालिकासँग साझा योजना र कार्यक्रमका विषयमा छलफल गरी समन्वय गर्न सकिनेछ”, अध्यक्ष चौधरीले भन्नुभयो, “कार्यक्रम कार्यान्वयनको चरणमा गएपछि सम्बन्धित विषयमा छलफल चलाउने छौँ ।”
रासस