सुनाखरी न्युज/ काठमाण्डौ ।
जलेश्वर नगरपालिकाले ‘हरित अभियान’अन्तर्गत एक लाख २५ हजार नयाँ बिरुवा रोप्ने भएको छ । चालू आवको साउन महिनाभित्रै उक्त सङ्ख्यामा वृक्षरोपण गरिने नगरप्रमुख सुरेश साह सोनारले जानकारी दिनुभयो ।
“हामी नगरको धार्मिक पहिचानमा अब हरित नगरी पनि थप्दै छौँ, साउनभित्रै नयाँ बिरुवा रोपिने लक्ष्यसाथ धमाधम वृक्षरोपण जारी छ”, उहाँले भन्नुभयो । जलाधिनाथ महादेव श्री जलेश्वरनाथ, तपस्वी ऋषि भृगु आश्रम, रतबारा मठ, सन्सारीमाई देवीस्थान, धार्मिक महत्वका वरुण, पुरन्दर र भार्गव सर (तलाउ) एवं अन्य कैयौँ देवीदेवता र मठस्थलले जलेश्वरको परिचय धार्मिक नगरी रहँदै आएको छ ।
“हाम्रो नगर धार्मिक महत्वको छ, यहाँ बर्सेनि जलाधिनाथ महादेवको दर्शनकै लागि टाढाटाढाबाट श्रद्धालु भक्तजन आइरहनुभएको छ”, उहाँले भन्नुभयो, “अब हामी स्वच्छ र हराभरा नगर अवलोकनमा पनि पर्यटक आउने वातावरण बनाउन चाहान्छौँ, अहिलेको हरित अभियान यसैका लागि हो ।” यस क्रममा जारी साउनभित्रै सुरक्षाका उपाय अवलम्बन गर्दै बिरुवा रोपिने साहले बताउनुभयो ।
“मिथिलामा शुभकार्यमा ‘सवालाख’ शुभ मानिन्छ, दान, पूण्यमा पनि सङ्कल्पमै ‘सवा’ बोलिने÷भनिने चलन पछ्याउँदै हामीले सवा लाख बिरुवा रोपणको सङ्कल्प गरेका छौँ, यसपाली शरद सुरु हुनपूर्व यो पूरा गरिन्छ ।” यो अभियानको पहिलो चरणमा मुख्य बजार क्षेत्रमा अहिले धमाधम बिरुवा रोपण भइरहेको उहाँले जानकारी दिनुभयो । बजार क्षेत्रमा रोपिएका बिरुवाको संरक्षणको जिम्मेवारी सम्बद्ध व्यापारीलाई बनाइएको साहको भनाइ छ ।
“बजार क्षेत्रमा प्रत्येक पसल अगाडि सम्बद्ध व्यापारीले एउटा बिरुवा हुर्काउनैपर्ने जिम्मेवारी दिएका छौँ, बिरुवा, तारजालीको घेराबार, मलिलो माटो र अन्य मलजलको प्रबन्ध नगरपालिकाले गरेको छ”, उहाँले भन्नुभयो, “बिरुवाको नियमित देखभाल र संरक्षणको जिम्मेवारी चाहिँ व्यापारीले गर्नपर्छ ।” आफ्नो अगाडिको बिरुवा कुनै कारणले सर्न नसके व्यापारीले वडा कार्यालयमा जानकारी दिइ अर्को बिरुवा लिनसक्ने व्यवस्था छ ।
अहिले नगरको मुख्य बजारक्षेत्रका सडक किनारमा सम्बद्ध व्यापारीकै सक्रियतामा धमाधम बिरुवा रोपण जारी छ । यस अभियानअन्तर्गत तलाउका डिल, मठमन्दिर परिसर, चौतारा नजिकका सार्वजनिक जग्गा, कार्यालय परिसर, धर्मशाला र विद्यालय क्षेत्रभित्र अभियानकैरुपमा बिरुवा रोपिएका छन् ।
नगरपालिकाका १२ वडा बस्तीका सबै सडक किनार, सार्वजनिकस्थल र धार्मिक महत्वका तलाउ नजिक सम्बद्ध वडा कार्यालयको संयोजनमा बिरुवा रोपण गरिने नगर कार्यपालिकाको स्वीकृत तालिका छ । नगरको मुख्य सडक क्षेत्र भिठ्ठामोर–जलेश्वर–जनकपुर सडकमा तीन वर्षअघि रोपिएका बिरुवा राम्ररी हुर्केका छन् । ती पहिले रोपिएका बिरुवाको पनि संरक्षणको जिम्मेवारी तत्कालीन समयमै दिइएको थियो ।
अहिलेको अभियानमा गोल्डमोर, रोयलपाम, बोतलपाम, रुद्राक्ष, चम्पा र चाँपपूmलसहितका बिरुवा रोपिँदैछन् । वर्षा ऋतुभित्र सबै वडाले १०÷१० हजार, नगरपालिकाले पाँच हजार बिरुवा रोपण गर्ने र तिनको संरक्षणको जिम्मेवारी स्पष्ट किटान गरिएकोे जनाइएको छ ।
रासस