सुनाखरी न्युज/ काठमाडौं। अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह सतर्कताको विन्दु नजिक पुगेपछि बाँकेको तटिय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको विन्दु ६ मिटर कायम गरिएकोमा पानी सो नजिक पुगिसकेकोले सावधानीको सूचना जारी गरिएको जानकारी दिनुभयो । उहाँले मङ्गलबार दिउँसो १ बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ७५ सेन्टिमिटर पुगेको बताउनुभयो ।
सूचना अधिकृत ज्ञवालीका अनुसार दाङ, रोल्पा, प्युठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो । मङ्गलबार बिहानैबाट नदी क्रमिक रुपले बढ्दै गएको छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।
सूचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँ बस्तीमा सतर्क रहने सूचना पठाईएको बताउनुभयो । जिल्ला विपद व्यवस्थापन समितिका अनुसार कुसुममा पानीको सतह ७.८ मिटर पुग्ने बित्तिकै खतरा स्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह ७ मिटर ८० सेन्टिमिटर पुग्ने वित्तिकै राप्ती नदी आसपासका दर्जनौं गाउँ डुब्ने गरेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नदीको सतह बढेर ५.७५ मिटर पुगेपछि राप्तीपारीको उच्च जोखिममा रहेका क्षेत्रहरुमा अलर्ट जारी गरिएको बताउनुभयो । उहाँले जोखिमका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क र सजग रहन आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीन वटै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।
राप्ती नदी वरिपरिको क्षेत्रका विपद् व्यवस्थापन समितिहरु पनि तयारी अवस्थामा रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।