२०८३ श्रावण २० , बुधवार

अति विपन्न परिवारलाई जस्तापाता

सुनाखरी न्युज/ काठमाडौं । शुक्लाफाँटा नगरपालिका–१० का अति विपन्न परिवारलाई घरको छानो बनाउनका लागि जस्तापाता सहयोग गरिएको छ । वडाका अति विपन्न १० परिवारलाई जस्तापाता सहयोग गरिएको हो ।

 

खरको छाना भएका विपन्न परिवारको छनोट गरी जस्तापाता वितरणको कार्य गरिएको वडाध्यक्ष लालबहादुर ऐरले बताउनुभयो । “आगलागी, सर्प लगायतका विषालु किराको टोकाइबाट विपन्न परिवारलाई जोगाउनका लागि जस्तापाता निःशुल्क रुपमा उपलव्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “बर्सातका बेला छानो चुहिँदा बस्नै नसकिने विपन्न परिवारले दुखेसो गरेपछि वडाको बजेट खर्चेर जस्तापाता दिएका छौँ ।”

दश परिवारलाई जनही नौवटाका दरले छाना छाउनका लागि पुग्ने गरी जस्तापाता दिइएको उहाँले बताउनुभयो । जस्तापाता पाएपछि खुसी हुँदै लक्षी लुहारले भन्नुभयो, “बर्सातका बेला ढुक्कसँग झोपडीमा बस्न पाइने भएको छ, प्लास्टिकको त्रिपाल राखेर छाना छाएका थियौँ, हावाहुरीका कारण ठाउँ–ठाउँमा प्वाल पर्दा जति पानी बाहिर पर्दथ्यो, त्यति नै भित्र चुहिन्थ्यो, अब आरामले बस्न पाइने भएको छ ।” वडा कार्यालयले जस्तापाता खरिदका लागि रु एक लाख ५० हजार बजेट खर्चेको छ ।

यसैगरी वडा कार्यालयले ११ किसानलाई चारो (घाँस) काट्ने मेसिन, व्यावसायिक कार्य गरी आयाआर्जन गर्नका लागि ११ युवायुवतीलाई सिलाइ मेसिन अनुदानमा वितरण गरेको छ । किसान र युवा युवतीको मागबमोजिम रु तीन लाख बजेट खर्चेर सिलाइ मेसिन र चारो काट्ने मेसिन उपलब्ध गराइएको वडा सदस्य रामबहादुर बस्नेतले बताउनुभयो ।

चारो काट्ने मेसिनका लागि ७५ जनाले निवेदन दिएकामा आवश्यकताका आधारमा ११ जनालाई वितरण गरिएको उहाँको भनाइ छ । घरपालुवा जनावरलाई घरमै घाँस खुवाउनका लागि एक सय २० परिवारलाई सिमेन्टका ढुँण रु तीन लाख ५० हजारमा खरिद गरी वितरण गरिएको छ ।

 

पचास प्रतिशत अनुदानमा आठ किसानलाई स्यालो ट्युबेल र खानेपानीको अभाव भएका वडाका तीन ठाउँमा अटोजन नल्का गाड्ने कार्य गरिएको छ । यी दुवै कार्यका लागि वडाले रु सात लाख बजेट खर्चेको छ । आगामी आवदेखि लक्षित वर्गको समस्या पहिचान गरी उत्थानका लागि कार्यक्रम सञ्चालन गर्ने वडाको योजना रहेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले वडा नं १० जस्तै अरू वडाले पनि लक्षित वर्गका लागि गतिला कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । “नगरपालिकामा बसोबास गर्ने, अति विपन्न, दलित, वादी, मुक्त हलिया, मुक्त कमैया, आरक्ष विस्थापित, सुकुम्वासी, महिला, युवा, ज्येष्ठ नागरिकलगायत प्रत्यक्ष रुपमा लाभान्वित हुने कार्यक्रम ल्याउनका लागि वडाहरुलाई उत्प्रेरित गर्छौं”, उहाँले भन्नुभयो, “नगरपालिकाबाट पनि लक्षित वर्गको उत्थानका लागि कार्यक्रम सञ्चालन हुन्छन् ।”
रासस