२०८३ श्रावण २० , बुधवार

अन्तरजातीय बिहेको कारण जल्यो घर

सुनाखरी न्युज / काठमाडौं । दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घर नै जलाइदिएका छन्। तातोपानी–४ गिडीखोलामा २१ वर्षीय मुकुन्द नेपालीको घरमा आगजनी गरेको आरोपमा आइतबार स्थानीय २१ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ।

 

गत साता तातोपानी–४ गिडीखोला निवासी नेपाली थरका एक युवाले स्थानीय किशोरीसँग प्रेमबिहे गरेका थिए। स्थानीयका अनुसार ती दुवै जनाले २ वर्षको प्रेमपछि अन्तरजातीय ‘विवाह’ गरेका हुन्। यद्यपि आफन्तले किशोरी १६ वर्षको मात्र भएको बताएका छन्। बिहे अवैध भए कानुनअनुसार हुनुपर्नेमा घर नै जलाइदिएकोमा कारबाही गरिने प्रहरीको भनाइ छ।

मुकुन्दका दाजु भरत नेपालीका अनुसार बिहान ४ बजेतिर भएको आगजनीमा घर र त्यसभित्र रहेका सामान नष्ट भएका छन्। गिडीखोला बस्तीको बीचमा रहेको भरतको घरमा धूवाँको मुस्लो देखिएपछि गाउँलेले निभाउने प्रयास गरेका थिए।

 

आगलागीको खबर आएपछि १५ मिनेट दूरीको हाँकु चौकीबाट असई राजेन्द्र गिरी नेतृत्वको टोली घटनास्थल पुगेको थियो। उनले आफूहरू पुग्दा घर पूरै क्षतिग्रस्त भइसकेको बताए। संयोगले उक्त घरमा आगलागी भएको दिन कोही थिएनन्। गैरसरकारी संस्थामा काम गर्ने भरत शनिबार सदरमुकामतिर बसेका थिए।