२०८३ श्रावण २० , बुधवार

‘फर्क युवा अभियान’

सुनाखरी न्युज/ काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिकाले विदेशिएका युवालाई गाउँमा नै फर्काएर स्वरोजगार बनाउन ‘फर्क युवा अभियान’ कार्यक्रम सुरु गरेको छ ।

गाउँपालिकाले पालिका भित्रका बैदेशिक रोजगारीबाट फर्किएका युवाको ज्ञान, सिप र क्षमतालाई गाउँको विकासमा लगाउँदै स्वरोजगार बनाउनका लागि ‘फर्क युवा अभियान’ कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।

“विदेशबाट फर्किएर फेरि विदेशमा मात्रै अवसर देख्ने युवालाई गाउँमै रहेका थुप्रै अवसरसँग जोड्न सकिन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि गाउँपालिकाले उनीहरुलाई प्रोत्साहन गर्नुपर्छ भन्ने उद्देश्यसहित फर्क युवा अभियान स्वरोजगार कार्यक्रमको थालनी गरिएको हो ।” गाउँपालिकाले चालु आर्थिक वर्षदेखि नै युवालाई गाउँमा स्वरोजगार बनाउन विभिन्न पेसा व्यवसाय सञ्चालनका लागि प्रोत्साहन गर्दै अनुदानसहितको अभियान थालनी गरेको अध्यक्ष देवकोटाले बताउनुभयो ।

 

अभियानअन्तर्गत वैदेशिक रोजगारीमा गएर फर्किएका युवालार्ई अधिकतम रु ५० हजारसम्म आर्थिक अनुदान उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । “विदेशबाट फर्किएर सुरु गरेको पेसा, व्यवसाय र लगानीको प्रकृतिको आधारमा अनुदान उपलब्ध गराइने गरी कार्यविधि बनाएर कार्यान्वयन सुरु गरिएको छ”, अध्यक्ष देवकोटाले भन्नुभयो, “अहिले थालनी मात्र गरिएको हो, यो वर्ष २१ जना त्यस्ता युवा छनोट गरी अनुदान उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।”

 

कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका युवालाई स्वदेशमै फर्किएर गाउँमै स्वरोजगार बन्न चाहेमा वा वैदेशिक रोजगारीबाट फर्किएर गाउँमा पेसा व्यवसाय गर्दै आएका युवालाई गाउँपालिकाले प्रोत्साहनका लागि आर्थिक अनुदान उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

“अहिले गाउँका युवा सबै विदेशिएका छन्, गाउँमा युवा नहुँदा विकासका निम्ति जनशक्तिको पनि अभाव भएकै छ”, उहाँले भन्नुभयो, “विदेशबाट फर्किएर गाउँमै केही गर्छु भन्ने युवाका लागि कार्यक्रमले उत्साहित बनाएको छ ।” अध्यक्ष देवकोटाले विदेशबाट फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउन सके उनीहरुले विदेशमा सिकेका सीपलाई गाउँको विकासका लगाउन सकिने उल्लेख गर्नुभयो ।

अनुदान कार्यक्रम सहभागी हुनका लागि श्रम स्वीकृति लिएर विदेश गई अनिवार्यरुपमा छ महिनाभन्दा बढी विदेशमा काम गरेर फर्किएको हुनुपर्ने, पालिकाभित्र अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गरेकोलगायतका पालिकाले निर्धारण गरेको शर्त पालना गरेको हुनुपर्ने अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।रासस