२०८२ चैत्र ३ , मंगलबार

बजेटको सूचना चुहावटबारे छानबिन गर्ने मन्त्री आलेको प्रतिबद्धता

सुनाखरी न्युज/ काठमाडौं । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले बजेटको सूचना चुवावट सम्बन्धमा छानविन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रदेशसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेटको चुवावट भएको दाबी गर्दै सभा बैठक अवरुद्ध गरेपछि जवाफ दिँदै उहाँले मन्त्रालयले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सूचना चुहावट सम्बन्धमा त्रुटी एवम् कानुनविपरीत भएको पाइएमा कारबाही गर्ने गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा मन्त्रालयगत विनियोजनका छुट्टाछुट्टै किताब छाप्ने  सम्बन्धमा सहमति भएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षबाट लागू हुनेगरी योजना बैंक बनाउने कुरा तय भएको उहाँको भनाइ छ ।
समपुरक विशेष योजनालाई परम्परा एवम् नियम कार्यविधि विपरीत भए त्यसलाई सच्याइने समेत उहाँको भनाइ छ । उहाँले योजना कार्यान्वयनमा आएपछि प्रदेशसभा सदस्यलाई अनुगमनमा खटाइने समेत भनाइ राख्नुभयो ।
त्यसअघि प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले वार्षिक विकास कार्यक्रम प्रदेशसभा सदस्यले प्राप्त गर्नुभन्दा ५८ घण्टा अघि सत्ता गठबन्धनका कार्यकर्ताबाट सामाजिक सञ्जालमा राखिएको लगायतका विषय उठाउँदै त्यसबारे स्पष्ट कुरा नआउँदासम्म बैठक अघि बढ्न नसक्ने अडान लिनुभएको थियो । रासस