२०८३ श्रावण २० , बुधवार

उपप्राध्यापक चलाउनेले तोडे अनशन

सुनाखरी न्युज  / काठमाडौं –   त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले अनशन तोडेका छन ।सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन बिहीबार अन्तरिम आदेश दिएसँगै चलाउनेले शुक्रबार कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अनशन तोडेका हुन ।

 

चितवनकी होम कुमारी बरालले चलाउनेलाई दही खुवाएर अनशन तोडाएकी हुन् । उनी आजै चितवनबाट काठमाडौं आएकी हुन् । चलाउनेमाथि कुटपिट हुँदा त्यतिबेला होम कुमारी बरालले नै बचाएकी थिइन ।आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयको विरोध गर्दै असार ३ गतेदेखि त्रिवि उपकुलपति कार्यालय अगाडि अनसनमा बसेका थिए ।

 

अनसन तोड्दै चलाउनेले न्यायको आंशिक जित भएको अनुभूति भएको बताए । न्याय पाउने प्रक्रियालाई अवरुद्ध गरेमा प्रतिकार गर्न फेरि सडकमा आउने उनले बताए । जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै उनी सर्वोच्च पुगेका थिए ।