२०८३ श्रावण २० , बुधवार

हेलम्बुमा अन्तर्राष्ट्रिय बालअधिकारकर्मीहरुको छलफल

सुनाखरी न्युज  / काठमाडौं –  बालबालिकाहरुको अभिभावकीय हेरचाहसम्बन्धी त्रिदेशीय अनुभव आदानप्रदानका लागि नेपालसहित केन्या र डेनमार्कको बालअधिकारकर्मीहरुको समूहले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा भेटघाट तथा छलफल गरेका छन । बालबालिकाहरुको क्षेत्रमा काम गरिरहेका तीन देशका प्रतिनिधि टोलीले १० दिने भ्रमणका क्रममा उक्त गाउँपालिकामा पुगेर सो छलफल गरेका हुन ।

 

छलफलमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाले बालबालिकाको सर्वोत्तम हितका लागि निर्माण गरेको नीति तथा सम्पादन भएका कार्यबारे चर्चा गर्नुभएको थियो । उहाँले गाउँपालिकाले १० वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई छात्रावासमा नराख्ने नीति लिएको समेत बताउनुभयो । सन् २०२१ मा आएको मेलम्ची बाढी तथा कोभिड– १९ कारण विद्यालयहरु करिब दुई वर्ष बन्द हुँदा बालबालिकाको सिकाइ स्तर खस्किएको र यस चुनौतीलाई सम्बोधन गर्न गाउँपालिकाले बालबालिकाको संरक्षण र सहयोगका लागि विशेष ध्यान दिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

 

नेपाल सरकारले सामुदायिक विद्यालयमा कक्षा छसम्म दिवा खाजाको व्यवस्था गरेको छ तर त्यसलाई थप गरी कक्षा १२ सम्म निःशुल्क खाजा खुवाउनुपर्नेमा जोड दिँदै उहाँले अपाङ्गता भएका बालबालिकालाई घरमै बसेर पढ्न सक्ने गरी सामुदायिक स्रोत कक्षाहरुसमेत सञ्चालन गर्ने लक्ष्य लिइएको बताउनुभयो । गाउँपालिकाले गाउँमै कक्षा ११ देखि विज्ञान, सिभिल इन्जिनियर, होटल म्यानेजमेन्टजस्ता विषयमा पठनपाठन गर्न पाउने व्यवस्था मिलाउन लागेको र पढ्नकै लागि सहर जानुपर्ने अवस्था अन्त्य गराउन लागेको अध्यक्ष शेर्पाको भनाइ थियो ।

 

समग्र विद्यालयको अवधारणाअनुसार बालबालिकाको सर्वोत्तम हितका लागि शिक्षक, अभिभावक र समुदायलाई सँगसँगै काम गर्न प्रेरित गरिरहेको र हेलम्बुमा स्थापना भएको नमूना विद्यालयमा नवीन प्रविधिबाट वर्तमान सुहाँउदो सामुदायिक आवश्यकताका विषयहरु अध्यापन गराइरहेको छ । बालबालिकालाई स्वास्थ्य र शिक्षा निःशुल्क गराउनका लागि डेनमार्कसँग पहिलेजस्तै स्वयम्सेवक शिक्षकका अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस भएको उहाँले बताउनुभयो ।

 

गाउँपालिकाले गर्भवती तथा सुत्केरी लक्षित निःशुल्क एम्बुलेन्स सेवा सबै बिरामीका लागि उपलब्ध गराइरहेको स्मरण गराउँदै जलवायु परिवर्तनको असर अध्ययन गरी आगामी आर्थिक वर्षभित्र गाउँपालिकाले सुरक्षा योजना निर्माण गर्ने पनि अध्यक्ष शेर्पाले बताउनुभयो ।केन्या एलाइन्स फर एड्भान्समेन्ट अफ चिल्ड्रेनका कार्यकारी निर्देशक टिम एकेसाले जोखिममा रहेका बालबालिकाको विषयमा स्थानीय सरकारले लिएको अपनत्वको खुलेर प्रशंसा गर्नुभयो । डेनमार्कका कमिला लेजेन्ड्राले आफ्नो धेरै भ्रमणहरुमध्ये जनताको समग्र आवश्यकतालाई सम्बोधन गर्ने पालिकामध्ये हेलम्बु मात्रै प्रमुख रहेको बताउनुभयो । यसबाट भ्रमण दलका सबै प्रतिनिधि प्रभावित भएको बताउँदै जटिल समस्यालाई पनि सकारात्मक चुनौती दिनु एकदमै उत्कृष्ट कार्य भएको उहाँको भनाइ थियो ।

 

नेपालका तर्फबाट जस्ट नेपाल फाउन्डेसनका कार्यकारी निर्देशक गोपाल लामाले गाउँपालिकाका समग्र विद्यालय अवधारणाका १२ जना सहजकर्तासँग गाउँपालिकाको ३४ वटै सामुदायिक विद्यालयको अवस्थाबारे जानकारी लिँदै यो एउटा प्रभावकारी शैक्षिक अवधारणा रहेको र यसले जोखिममा रहेका समुदायको शैक्षिक चुनौतीको गहिराइमा पुगेर काम गरिरहेको देखिएकोे बताउनुभयो ।डेनमार्ककी प्रतिनिधि चारलोत ली जेन्सनले समग्र विद्यालयको अवधारणामा केही गर्ने र छोडेर हिँडिहाल्नेजस्तो नदेखिएको र समय धेरै खर्च भए पनि समावेशिता र शैक्षिक क्षेत्रमा गहिरो र दीर्घकालीन परिवर्तन ल्याउने कुरा भइरहेको जानकारी दिनुभयो । राजनैतिक नेतृत्वबाट परिवर्तनका लागि समय लाग्ने यस्ता परियोजनाका उपलब्धि स्वीकार गर्ने प्रतिबद्धता विरलै देख्न पाइने उहाँको भनाइ थियो ।केन्यास्थित भौतिक अपाङ्गता सङ्घका प्रतिनिधि बेन्सन किप्टमले अपाङ्गता भएका बालबालिकाहरुलाई सहायता गर्न समुदायमा आधारित पुनर्वासकार्यमा सघाउन स्थानीय कर्मचारीहरुले प्रस्तुत गरेको योजना र विचारबाट प्रभावित भएको बताउनुभयो । रासस