२०८३ श्रावण २० , बुधवार

उपप्रधानमन्त्री एवम् गृहमन्त्रीश्रेष्ठको प्रमुख आतिथ्यमा योग विज्ञान शिविर तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं, नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार एक दिवसीय योग विज्ञान शिविर २०८० तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले हाम्रा प्राचीन चिन्तक, दार्शनिक र योगीहरूले योग अभ्यासलाई जीवनको अभिन्न अंगको रूपमा लिँदै आएको चर्चा गर्नुभयो । योग अभ्यासलाई जीवनको अभिन्न अंग र वैज्ञानिक अभ्यासको रूपमा अनुशरण गर्न सकेमा व्यक्तिलाई स्वच्छ एवम् समाजलाई पनि अगाडि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । योग भनेको योग अभ्यास मात्र नभई यसको महत्वलाई आत्मसात गर्दै आफू र समाजलाई समेत अभ्यास गराउनुपर्ने बताउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “योग अभ्यास एवम् ध्यानले शरीरिक एवम् मानसिक रूपले स्वच्छ बनाउन, जागरूक, संतुलित बनाउन र आफूलाई रूपान्तरण गर्ने प्रकृयामा योगदान पुर्‍याउँछ ।” सरकारको नीति तथा कार्यक्रममा योग र ध्यानलाई संस्थागत रूपमा नै अगाडि बनाउन प्रोत्साहित गर्न आफूले पहल गरेको चर्चा गर्दै उहाँले गृहमन्त्रालय मार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, प्रशासनिक क्षेत्र एवम् कारागार समेतमा योग शिविर संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

May be an image of 5 people, dais and text

उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरीले गर्दै आएका कामप्रति गर्व गर्दै आगामी दिनमा अझ बढी गर्व एवम् प्रतिष्ठा स्थापित गर्न सम्पूर्ण प्रहरी कर्माचारीहरूले कर्तव्यबोधका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिबृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । एकै दिनमा योग सम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नहुने बताउँदै उहाँले योगको सही अभ्यास र निरन्तरता एवम् यसबाट लाभग्राही हुने अवसरको लागि यो कार्यक्रम सहायकसिद्ध हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।

May be an image of 8 people and dais

निश्चित अनुशासन र पद्धतिमा बाँधिएर अवलम्बन गरिने योगाभ्यासबाट शरीरमा स्फूर्ति बढ्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोचतर्फ व्यक्तिलाई उत्प्रेरित गर्न सकिने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “योग व्यक्तिको शरीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएकोले स्वस्थ व्यक्ति र सुखी समाजको निर्माण योगबाट सम्भव छ । योग गर्ने व्यक्तिमा सकारात्मक सोच विकास भई नकारात्मकतालाई न्यूनीकरण गर्ने र सकारात्मक सोचले रिस द्वेष एवम् प्रतिशोधको भावनालाई समेत कम गर्दछ, फलस्वरूप यसको प्रभावबाट समाजमा हुने अपराधहरूमा पनि कमी ल्याउन मद्दत गर्दछ ।” शान्त, धैर्यवान भई निर्णय गर्नुपर्ने प्रहरी अधिकृत तथा जवानहरूको मन एवम् मस्तिष्क स्थिर हुन जरूरी रहेको उल्लेख गर्दै उहाँले नेपाल प्रहरीमा नियमित योगाभ्यास गराउने र तालिम प्रदायक निकायहरूमा संचालित तालिमका प्रशिक्षार्थीहरूलाई योगाभ्यास गराउने लक्ष्यसहित नेपाल प्रहरी प्रधान कार्यालय र पतंजलि योग समिति नेपालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।

May be an image of 3 people, speaker, dais and text

सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र, युवा केन्द्रीय संयोजक लोकनाथ खनाल र सह-केन्द्रीय प्रभारी अर्चना घिमिरेलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो भने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले कृतज्ञताको चिनो प्रदान गर्नुभएको थियो । पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले योग शिक्षा बारेमा मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लभदेव मिश्रले योगाभ्यास गराउनु भएको थियो । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा विश्वभर मनाउन थालिएपछि यस वर्ष पतंजली योग समिति नेपालको तत्वावधान र नेपाल प्रहरीको आयोजनामा उक्त शिविर संचालन गरिएको हो ।

May be an image of 1 person, crowd and text

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लगायत पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, पतंजली योग समिति नेपालका पदाधिकारी एवम् योग गुरूहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता रहेको थियो ।