२०८१ बैशाख १८ , मंगलबार

आर्थिक वृद्धि ऋणात्मक रहेका क्षेत्रले पुनर्कर्जा पाउने

New Note

सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ऋणात्मक आर्थिक वृद्धिदर रहेका उत्पादन, निर्माण र थोक तथा खुद्रा व्यवसाय क्षेत्रका ऋणीले सस्तो ब्याजदरको पुनर्कर्जा सुविधा पाउने भएका छन् । उक्त व्यवस्था कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गरेको छ ।

‘मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत घोषणा भए अनुसार कार्यविधिमा क्षेत्रगत आर्थिक वृद्धिदर लगातार दुई त्रैमासमा ऋणात्मक रही क्षेत्रगत मन्दी देखिएका क्षेत्रमा प्रवाह भएको पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिनेछ,’ कार्यविधिमा भनिएको छ, ‘तर, उल्लिखित क्षेत्रमा प्रवाह भएको कर्जा भए पनि त्यो व्यापार तथा आयातजन्य व्यवसायलाई प्रवाहित कर्जाको हकमा पुनर्कर्जा सुविधा पाइने छैन ।’

 

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आव २०७९-८० मा मुलुकको आर्थिक वृद्धिदर पौने २ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । यस अवधिमा उत्पादन, निर्माण, व्यापारलगायत क्षेत्रको वृद्धिदर ऋणात्मक हुनुका साथै अन्य क्षेत्रको वृद्धिदरमा पनि कमी आएकाले समग्र अर्थतन्त्रको वृद्धिदर उपभोक्ता मूल्यमा १।८६ प्रतिशतमा सीमित हुने कार्यालयको प्रक्षेपण छ ।

सरकारले चालु आवमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य तय गरेकोमा आर्थिक वर्ष ०७९-८० को वार्षिक लेखा तथ्यांकसम्बन्धी प्रतिवेदनले नेपालको अर्थतन्त्रको विस्तार खुम्चिने प्रक्षेपण गरेको हो । तर उक्त अवधिमा आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धिदर २।१६ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

गत आर्थिक वर्षमा कार्यालयले मुलुकको आर्थिक वृद्धिदर ५।८४ प्रतिशत रहने प्रक्षेपण गरेकामा अहिले ६-६१ प्रतिशतको संशोधित अनुमान गरेको छ । यस वर्ष विद्युत् र होटल क्षेत्रको वृद्धिदर निकै राम्रो भए पनि कुल जीडीपीमा यस क्षेत्रको भार निकै कम रहेकाले समग्र जीडीपीमा खासै असर नपरेको कार्यालयले प्रस्ट्याएको छ ।