२०८१ बैशाख १८ , मंगलबार

‘आवर नर्स, आवर फ्युचर’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै

सुनाखरी न्युज/ काठमाडौं । ‘आवर नर्स, आवर फ्युचर’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै छ ।

 

लेडी विथ द ल्याम्पको नामले चिनिने फ्लोरेन्स नाइटिंगेलको जन्मदिन अर्थात् मे १२ का दिन यो दिवस मनाइँदै आएको छ । आधुनिक नर्सिङ फाउण्डर फ्लोरेन्स नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा इटालीको फ्लोरेन्समा भएको थियो । जर्मनीमा नर्सिङ तालिम गरेकी उनलाई क्रिमिया युद्धको क्रममा सन् १८५३ मा टर्कीको सैन्य अस्पताल पठाएको थियो । त्यसबेला ब्रिटेनले महिलालाई सेनामा समावेश गराएको थियो । त्यही समयमा उनले बिरामीको सेवा सुरु गरेकी थिइन् ।

 

सो अस्पतालमा उनले अस्पताल सफा गर्नेदेखि सैनिकको लागि सफा खाना र कपडाको व्यवस्था गरिन् । टर्कीमा सैनिकको हेरचाह तथा स्याहार गरिएकोे त्यो पहिलोपटक थियो । त्यो समयसमा टर्कीमा १८ हजार सैनिकमध्ये १६ हजार सैनिकको मृत्यु फोहोर र संक्रामक रोगबाट मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको थियो । फ्लोरेन्सको प्रयासले नै व्रिटिस सेनामा मेडिकल, स्यानेटेरी साइन्स विभाग बनेको थियो । सन् १८६०मा उनको नाममा व्रिटेनमा नर्सिङ स्कुलको स्थापना भयो । उनी ‘वे अर्डर अफ मेरिट’ सम्मान पाउने पहिलो महिला समेत हुन् ।

 

उनी अस्पतालमा रातको समयमा पनि खट्थिन् । रातिको ड्युटीमा हातमा लालटिन लिई सेवा दिने भएकाले नै उनलाई ‘द लेडी विथ द ल्याम्प’ को नाम दिइएको थियो । सन् १९१० मा फ्लोरेन्सको ९० वर्षको उमेरमा निधन भयो । उनको निधनपछि सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलले प्रत्येक मे १२ लाई अन्तर्राष्ट्रिय नर्स दिवसको रूपमा मनाउने घोषणा गरेको थियो ।