२०८१ बैशाख १८ , मंगलबार

टुकुचाको प्राकृतिक अधिकार पुनःस्थापनामा पहिलो चरणको सफलता मिलेको छ : प्रमुख शाह

Balen

सुनाखरी न्युज/ काठमाडौं । टुकुचाको प्राकृतिक अधिकार पुनःस्थापना गराउन सुरु गरिएको काममा पहिलो चरणको सफलता प्राप्त भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ ।

उच्च अदालत पाटनबाट टुकुचाका बिषयमा भएको फैसलाको पूर्ण पाठलाई उधृत गर्दै प्रमुख शाहले खोला छोप्ने कार्य बर्जित भएको र बर्जित कार्यलाई सक्रियतापूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप चालेका कुनै पनि कदम खेर नगएको बताउनुभएको हो । प्रमुख शाह भन्नुहुन्छ, ‘केही दिन अघि सार्वजनिक भएको उच्च अदालत पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ । नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधि शास्त्रको, घोषणा गरेको छ ।’

‘अदालतको फैसलाले फैसलाले टुकुचा खोला अर्थात इच्छुमती नदीको प्राकृतिक अधिकार पुनःस्थापना तथा संरक्षणको लागि काठमाडाँै महानगरपालिका लगायत संघीय सरकारका सम्बद्घ निकायहरूको ध्यानाकर्षण समेत गरेको छ ।’ प्रमुख शाह भन्नुहुन्छ, ‘कुनै पनि नदी वा खोलाको वहाव क्षेत्र, त्यसको दायाँबायाँ वा माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ । तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।’