२०८३ श्रावण १८ , सोमवार

राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान

सुनाखरी न्युज/ काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ ।

 

बुधवार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती लगायतको ८ सदस्यीय टिम रुस प्रस्थान गरेको हो । प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने बताए । उहाँले दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरु उल्लेख हुने बताए ।

 

‘उच्चस्तरीय भेटघाट हुनेछन् । दुई देशका संसदहरुको बीचमा एमओयु पनि हामी गर्नेछौँ,’ उनले भने, ‘दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरु उल्लेख हुनेछ । दुवै सदनका प्रमुख र त्यहाँका सरकारी उच्च अधिकारीसँग र व्यवसायिक व्यक्तित्वहरुसँग र प्रदेश प्रमुखसहित करिव ९ जना विशिष्ट व्यक्तित्वसँग हाम्रो भेट हुनेछ । वैशाख १२ गते दिउँसो ४ः४५ बजे करिव हामी यहाँ आउनेछौँ ।’

 

भ्रमण टोलीमा रहनुभएका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दुई देशका संसदबीचको सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा भ्रमण हुन लागेको बताए । उनले रुसले राष्ट्रिय सभाको प्रतिनिधित्व हुनेगरी उच्चस्तरको भ्रमण पहिलो पटक बोलाएको दाबी गरे । आफूहरु नेपाली जनताको सद्भाव बोकेर रुस प्रस्थान गर्न लागेको भन्दै नेपाली जनता, नेपाल सरकार, राष्ट्रिय सभा संघीय संसदको सद्भावसमेत रुसमा व्यक्त गर्ने उनको भनाइ छ । राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा रुस प्रस्थान गरेको ८ सदस्यीय भ्रमणकारी टोली वैशाख १२ गते दिउँसो स्वदेश फर्किने कार्यतालिका रहेको छ ।