२०८१ बैशाख १८ , मंगलबार

जहाज उडाइरहेको समयमा पाइलट निलम्बन गरेपछि निगमका कार्यकारी अध्यक्षलाई सोधियो स्पष्टीकरण

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल वायुसेवा निगमको न्यारोबडी विमान गत मंगलबार हङकङबाट काठमाडौं आउँदै थियो । ३४ हजार फिटमाथि चिनियाँ आकाशमा उडिरहेको जहाजका क्याप्टेन रविन्द्र शेरचनलाई यता काठमाडौंमा निगमले निलम्बन गर्‍यो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्याप्टेन शेरचनलाई मंगलबार बेलुकी ७ बजेर ८ मिनेटमा एउटा इमेल पठाए, जसमा उनलाई ‘अनिश्चितकालका लागि निलम्बन गरिएको’ लेखिएको थियो ।

१ सय ३० जना यात्रु राखेर हङकङबाट बेलुकीपख उडेको आरए–४१० उडान नम्बरको न्यारोबडी विमानको हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेपछि रुट थियो चीन, बर्मा, बंगलादेश, भारत हुँदै नेपाल । विमान उडाइरहेका थिए क्याप्टेन रविन्द्र शेरचन र कोपाइलट प्रचण्ड खड्का ।

 

अध्यक्ष अधिकारीले चैत १८ गते काठमाडौंबाट दुबई उड्नुपर्ने वाइडबडी विमानमा कोपाइलट अभावपछि अर्को जगेडा कोपाइलट व्यवस्थापन गर्न नसकेको कारण देखाउँदै शेरचनलाई निलम्बनको पत्र इमेलबाट पठाएका थिए । ककपिट तथा क्याबिन क्रुको अपरेसन विभागको जिम्मेवारीसमेत लिएका शेरचनलाई अध्यक्षले दुबई उडान रद्द हुनुको कारणबारे अध्ययन गर्न गठन गरिएको उपसमितिको प्रारम्भिक प्रतिवेदनको हवाला दिँदै थप जाँचबुझ गर्नुपर्ने देखिएकाले निगमको कर्मचारी सेवा सर्तसम्बन्धी विनियममा टेकेर तत्कालै लागू हुने गरी निलम्बन गरेका थिए ।

क्याप्टेन शेरचनले ५ घन्टापछि मंगलबार राति १० बजेर २१ मिनेटमा जब जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएपछि मात्र निलम्बनमा परेको जानकारी पाए ।

यसै विषयमा आइतबार नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।