२०८१ बैशाख १८ , मंगलबार

चौध वर्षपछि आज स्ववियु निर्वाचन हुँदैः निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल

सुनाखरी न्युज/ काठमाडौं । चौध वर्षपछि विद्यार्थी संगठनहरुको स्ववियु निर्वाचन आज हुँदैछ । त्रिवि अन्तर्गतका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । तर विद्यार्थी संगठनहरुबीचको विवादका कारण आज आङ्गिक तर्फका ४८ वटा क्यम्पसमा मात्रै निर्वाचन हुदैछ ।

 

आङ्गिकतर्फका एक दर्जन क्याम्पसमा भने निर्वाचन के हुने भन्ने अझैं टुङ्गो छैन । लामो अन्तरालमा हुन लागेको निर्वाचनबाट विद्यार्थीहरु उत्साहित भएपनि विद्यार्थी भर्ना संख्या लगायत विषयलाई लिएर उत्पन्न विवादका कारण विद्यार्थी संगठनहरुले क्याम्पसमा ताल्चा लगाएका छन् । तर प्रधानमन्त्री स्वयम् नै कुलपति हुने विश्व विद्यालयको निर्वाचनमा सुरक्षा व्यवस्थापन चुस्त बनाइएको अधिकारी बताउनुहुन्छ ।

 

स्ववियु निर्वाचनमा मतदानका लागि आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ । एक लाख ७० हजार विधार्थीले मतदान गर्ने प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य निर्वाचित हुनेछन् । यसैगरि उपाध्यक्ष र सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक प्रणाली मार्फत चयन हुनेछन् ।

 

यसैबीच त्रिभुवन विश्वविद्यालयले आज हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबैलाई सहयोग गर्न अपिल गरेको छ । त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले विज्ञप्ति जारी गर्दै विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनमा सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न अपिल गर्नुभएको छ ।

 

उहाँले सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षाकर्मी, पत्रकार नागरिक समाज सबैलाई निर्वाचन सम्पन्न नहुन्जेलसम्म आवश्यक सहयोग गर्न अपिल गर्नुभएको हो । स्ववियु निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको उहाँले जानकारी दिनुभयो ।

त्रिविले प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन । स्ववियु निर्वाचनको मतदान आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।