२०८१ बैशाख १८ , मंगलबार

भुलेर पनि यी कपडा वासिंग मेसिनमा नधुनुहोस्

सुनाखरी न्युज/ काठमाडौं । अहिले शहरी क्षेत्रमा प्राय घरमा कपडा धुन वासिंग मेसिन राखिएको हुन्छ । तर कतिपयलाई त्यसको सही उपयोग गर्ने बारे जानकारी हुँदैन ।

 

हरेक लुगालाई एउटै साइकलमा हालेर धुने वा मेसिनमा धुन नमिल्ने लुगा पनि हाल्ने बानी हुन्छ । जसका कारण कपडा चाँडै च्यातिने वा बिग्रने हुन्छ अनि मेसिनलाई नै लुगा बिगारेको दोष दिइन्छ । कतिपय कपडा मेसिनमा धुन नमिल्ने हुन्छन् । धोएको खण्डमा त्यस्ता लुगा चाँडै बिग्रन्छन् । जानौं त्यस्ता लुगा बारे जसलाई मेसिनमा धुनु हुँदैन ।

ऊनका लुगा

ऊनका लुगालाई कहिल्यै पनि मेसिनमा धुनु हुँदैन । मेसिनमा धुनाले ऊनका कपडा छिटै पुराना हुन्छन् । ऊनका कपडा मेसिनमा धुँदा छिटै तन्किनुछन् पनि । त्यसैले ऊनका कपडालाई कि ड्राई क्लिन गर्ने वा चिसो पानीले हातले धुनु पर्दछ ।

 

सिल्कका कपडा

सिल्कका कपडा पनि मेसिनमा एकदमै छिटो बिग्रन्छन् । त्यसैले सिल्कका कपडा मेसिनमा हाल्नबाट जोगाउनु पर्दछ । त्यस्ता कपडालाई हातले नै चिसो पानीले सफा गर्नु पर्दछ ।

भित्री वस्त्र

त्यस्तै भित्री वस्त्रलाई पनि सकेसम्म वासिंग मेसिनमा धुनु हुँदैन । किनकी मेसिनले सानो कपडामा लागेको दाग राम्रोसँग निकाल्दैन । यदि तपाईंले ब्रा लाई मेसिनमा हाल्नुभयो भने त्यो तन्किने, डोरी छिन्ने हुन सक्छ । जसले गर्दा यसलाई हातले नै धोएको राम्रो हुन्छ ।

 

पातलो लुगा

सुती, सिल्क वा कुनै पनि पातलो लुगालाई पनि मेसिनमा धुनु हुँदैन । एकदमै पातलो लुगा मेसिनमा घुम्दा च्यातिने डर हुन्छ । त्यसैले विशेषगरी सुतीको धेरै नै पातलो लुगा मेसिनमा नहाल्नुहोस ।एजन्सी