२०८१ बैशाख १८ , मंगलबार

सरकार छाड्ने एमालेको निर्णय

सुनाखरी न्युज/ काठमाडौं । नेकपा एमालेले वर्तमान सरकार छाड्ने निर्णय गरेको छ।

 

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकार छाड्ने र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलले जानकारी दिए।राष्ट्रपति निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले पूर्वसहमति कार्यान्वयन नगरेको एमालेको भनाइ छ। ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि निर्णय भएको छ,’ उनले भने। प्रधानमन्त्री दाहालले परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रद्द गरिदिएको एमालेको भनाइ छ।

 

प्रधानमन्त्रीले सरकारबाट हटाउने, बर्खास्त गर्ने वा विनाविभागीय मन्त्री बनाउने जस्ता अभिव्यक्ति दिएकोले पनि यस्तो निर्णयमा पार्टी पुगेको पौडेलले बताए। उनले राष्ट्रपति निर्वाचन तयारीमा पार्टी जुटेको र विजयी हुनेसमेत बताए। नेता पौडेलका अनुसार सचिवालय बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट बाहिरिने निर्णय गरेको हो। प्रदेशबारे भने एमालेले अहिले कुनै निर्णय नगरेको उनले बताए।