२०८१ जेठ ६ , आइतवार

अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको सर्भरमा फेरि समस्या

सुनाखरी न्युज/ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा सोमबार कम्ती ६ वटा अन्तर्राष्ट्रिय उडानबाट बाहिर जाने एक हजार हाराहारी यात्रु प्रभावित भएका छन् ।

 

सोमबार ‘बिहान साढे ११ बजेदेखि अध्यागन कार्यालयको सर्भरमा समस्या देखिन थालेको थियो लगभग २ बजेसम्म यस्तै भइरहयो । सर्भर डाउन हुँदा नेपाल वायुसेवा निगम, इन्डिगो, बाटिक, थाई स्माइल, मलेसियन एयरलायन्स र श्रीलंकन गरी ६ वटा वायुसेवाबाट विदेश जानुपर्ने यात्रुको पासपोर्ट तथा भिसाको डिजिटल अध्ययन समयमै हुन नसकेको विमानस्थलस्थित कार्यालयले जनाएको छ । अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेले भने इन्टरनेटमा समस्या आउँदा काम रोकिएको दाबी गरे ।

 

२३ दिनअघि पनि अध्यागमन कार्यालयको सर्भर ५ घन्टासम्म बिग्रिँदा ५ वटा वायुसेवाका सयौं यात्रु अलपत्र परेका थिए । अध्यागमन कार्यालयका सूचना अधिकारी गणेश आचार्यले सर्भरमा समस्या देखिएको कारण पत्ता लगाउने काम भइरहेको बताए । सर्भर डाउन हुँदा अध्यागन कार्यालयको प्रस्थान विन्दुमा रहेका १४ र आगमन बन्दुमा रहेका २२ वटा कम्प्युटरले यात्रुको पासपोर्ट र भिसा अध्ययनको काम गर्न सक्दैनन् ।