
सुनाखरी न्युज/ काठमाडौं । शुक्रबारबाट सुरु हुने पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइन प्रवेश गरेका दुई नेपाली टोलीको हौसला बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नीसहित इन्डोनेसियाको जकार्ता पुगेका छन् ।
आफ्नो फेसबुक पेजमा एक पोस्टसमेत गरेर नेपाली टोलीहरु डीआरएस गेमिङ र टीटुके समूहलाई शुभकामना दिएका उनले नेपाली टोलीको प्रदर्शनको बारेमा निरन्तर लेख्ने गरेका छन् । यसअघि मेयर निर्वाचित भएपछि बालेनको नेतृत्वमा महानगरपालिकाले आफ्नो कार्यक्रममा ई–स्पोर्टस्सँग सम्बन्धित गतिविधि र प्रतियोगिताको सहयोगका लागि बजेट विनियोजन गरेपछि उनको ई स्पोर्टस्प्रतिको लगाव चर्चाको विषय बनेको थियो ।
जकार्ताको इन्टरनेसनल एक्स्पोमा आयोजना हुने तीन दिने यो ग्र्यान्ड फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टिमले १५ लाख डलर राशीको पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । सो टिममा चीनका ३, ब्राजिलका ३, नेपालका २, टर्कीका २, मंगोलियाका २, थाइल्यान्डका २ र मलेसिया तथा इन्डोनेसियाका एक एक टोलीले प्रतिस्पर्धा गर्नेछन् ।