२०८१ बैशाख १८ , मंगलबार

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने

सुनाखरी न्युज/ काठमाडौं । आगामी बिहीबार अर्थात् पुस २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने भएको छ । २३ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा विदेशी कच्चा पदार्थ, मेसिनरी र प्रविधि सहितका ४० भन्दा बढी कम्पनीका स्टल र नेपाली फुटवेयरका ९० कम्पनी सहभागी हुने बताइएको छ ।

 

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा हुन लागेको यस मेलामा देशभरबाट ४० हजारदेखि ५० हजार उद्योगी डिलर, होलसेलर र खुद्रा व्यापारीहरुको सहभागिता जनाउने बताइएको छ । प्रदर्शनीमा नेपालमा फुटवेयर तथा छालाजन्य सामाग्री उत्पादन, विधि, कच्चा पदार्थ र गुणस्तरको पनि जानकारी गराइने एसोसिएसनले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले भनेको छ ‘एउटै छानामुनि देशभरका उद्योगी हुने हुँदा पछिल्लो नयाँ डिजाइन, विकास र प्रतिस्पर्धी मूल्य छानेर कारोबार गर्नको लागि सहजता हुनेछ ।’

विश्वमा ख्याति कमाएका बहुर्राष्ट्रिय कम्पनीले यो प्रदर्शनीमा भाग लिने हुँदा नेपाली उद्यमीलाई आवश्यक गुणस्तरीय कच्चापदार्थ, मेसिनरी र प्रविधिको पहुँच सहज हुन गई गुणस्तरीय उत्पादन गर्न सहज हुने फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले जनाएको छ । एसोसिएसनका अनुसार प्रदर्शनीमा नेपालका ठूला उत्पादकदेखि साना घरेलु उद्योगहरुलाई समावेश गरिएको छ । स्टलको मूल्य तिर्न असमर्थ उद्योगहरुलाई केही संख्यामा निशुल्क राख्ने व्यवस्था मिलाइएको एसोसिएसनले जनाएको छ ।