२०८१ जेठ ५ , शनिवार

उच्च राजनीतिक संस्कार स्थापित गराउन निर्वाचन सफल : प्रमुख निर्वाचन आयुक्त थपलिया

सुनाखरी न्युज/ काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउनुभएको छ ।

 

निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, सुरक्षा निकायका जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षाहरू पूरा भएको बताउनुभयो । ‘‘हामीले नेपालमा २०४८ सालदेखिको निर्वाचन देख्दै आएका छौँ । पछिल्लो पटक सबैले निर्वाचन खर्चिलो र भड्किलो भयो भन्ने सुनियो,” आयोगले राखेका अपेक्षाहरूको विश्लेषण गर्दै उहाँले भन्नुभयो, ‘‘यस कारण हामीले निर्वाचनमा यस पटक पद, पैसा, पहुँच र पाखुराको भरमा नभई नीति, सिद्धान्त, विचार, निष्ठा र प्रतिबद्धताले जित्नुपर्छ भन्ने स्थापित गर्‍यौँ ।”

उहाँले आयोगले छलफल गरिरहँदा निर्वाचनको सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यास हेर्दा बाहिर देखिने भौतिक गतिविधि र हाम्रा यी सडकका भित्तामा भन्दा सामाजिक सञ्जालका भित्ताहरु अलि बढी रंगिन देखिने र विभिन्न कारणले निर्वाचनलाई दूषित पार्ने मनशाय बोकेका व्यक्तिहरूले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको माध्यमबाट निर्वाचनलाई अप्ठ्यारो पार्ने देखिएकाले यसलाई नजिकबाट नियमन गर्न यस पटक सफल भइरहेको पनि बताउनुभयो । उहाँले अब भौतिक रुपमा वा सडकमा हुने कुरामा मात्र होइन सामाजिक सञ्जालमार्फत पनि निर्वाचन प्रभावित गर्न पाइँदैन भन्ने कुरा स्थापित भएको र निर्वाचनमा पराजितले विजेतालाई सहर्ष आत्मैदेखि बधाई दिनसक्ने वातावरण बनाउनुपर्छ भन्ने मान्यता पनि यस पटकदेखि स्थापित भएको उल्लेख गर्नुभयो ।

 

उहाँले निर्वाचन अधिकृतहरूले काम गर्ने सिलसिलामा केही अप्ठ्यारा आएका भए सुधारका लागि सुझाव दिन आग्रह गर्नुभयो । प्रमुख आयुक्त थपलियाले आयोग वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नभएको बताउँदै भन्नुभयो, ‘‘हामी वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौँ । हामी अब छिट्टै नयाँ कानूनद्वारा निर्वाचनको व्यवस्था गरिनुपर्छ भन्ने व्यापक तयारी गरिरहेका छौँ । सम्भवतः यो नयाँ संसदको नयाँ अधिवेशनमा नयाँ कानूनको मस्यौदा पेश हुनेछ ।”