२०८१ बैशाख १८ , मंगलबार

अधुरा योजना पुरा गर्न पुनः एकपटक जिताउनुहोस् : केन्द्रीय सदस्य गिरी

सुनाखरी न्युज/ पर्वत । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचार प्रसारमा सक्रिय बनेको नेकपा एमाले पर्वतका उम्मेदवारको चुनावी कार्यक्रम शुक्रवार जलजला गाउँपालिका वडा नं. ८ र ९ मा सम्पन्न भएको छ ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा क का उम्मेदवार भक्त कुँवर सहित एमालेका केन्द्र, प्रदेश, जिल्ला र नगर स्तरीय नेताहरुको सहभागितामा विहान बनौका विभिन्न बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम गरिएको छ भने दिउँसो नागलीवाङका विभिन्न भागमा घरदैलो गरिएको थियो । सो अवसरमा कार्यकर्ता तथा मतदाताहरुलाई सम्वोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार पदम गिरीले पुरा हुन नसकेका र अधुरा योजना पुरा गर्नका लागि पनि पुन एकपटक आफुलाई जिताउन आग्रह गर्नुभयो । उहाँले अघिल्लो कार्यकालमा नाङलीवाङमा खानेपानीको समस्या समाधान गर्न सफल भएको बताउँदै आगामी कार्यकालमा खनियाघाटदेखि नाङलीवाङ हुँदै बनौ सम्मको कालोपत्रे गर्ने प्रतिवद्धता जनाउनुभयो । अघिल्लो पटक पुर्ण बहुमत ल्याउन नसक्दा एमालेले पुर्ण कार्यकाल सरकार चलाउन नपाएको बताउँदै यो निर्वाचनवाट मुलुकको परिवर्तन र विकासका लागि एमालेले पुर्ण बहुमत ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

 

उहाँले विगत पाँच वर्षमा जिल्लामा अराबौ बजेट भित्र्याएर विकास निर्माणका काम गर्न सफल भएको बताउँदै काँग्रेस नेतृत्वको सरकारले धेरै बजेट कटौती गरिदिएको समेत बतउनुभयो । कार्यक्रममा प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरले आफुलाई प्रदेश सभा सदस्यमा बिजयी गराएर जनताको सेवा गर्ने मौका दिन आग्रह गर्नुभयो । नागरिकका लागि आवश्यक साना देखि ठुला चाहाना र आवश्यकताको परिपुर्तिका लागि आफु निरन्तर सक्रिय रहने बताउँदै कुँवरले बिजयी भएपछि यस क्षेत्रको विकासका निम्ति दिन दोगुना रात चौगुना सक्रिय भएर लाग्ने प्रतिद्धता जनाउनुभयो । कार्यक्रमा पूर्व मन्त्री विकास लम्साल, नेकपा एमालेका नेता गणेश शर्मा पौडेल, जलजला गाउँपाकमिटि अध्यक्ष लालबहादुर अधिकारी, महिला नेतृ अनिता रेग्मी लगायतले सम्वोधन गर्नुभएको थियो । सो अवसरमा माओवादी केन्द्र र नेपाली काँग्रेस परित्याग गरी एक दर्जन भन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले कुश्मा नगरकमिटि उपाध्यक्ष किशोर सापकोटाले जानकारी दिनुभयो । माओवादी र काँग्रेसको पकड मानिने बनौ र नागलीवाङमा एमालेका उम्मेदवार पुग्दा स्थानीयवासी उत्साहित बनेका थिए ।

त्यसैगरी प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालको चुनावी कार्यक्रम पैंयु गाउँपालिका वडानं. ७ भोर्लेमा सम्पन्न भएको छ । भोर्लेका विभिन्न बस्तीमा पुगेर बस्याल सहितको एमाले नेताहरुको टोलीले घरदैलो तथा कोणसभा गर्दै नागरिकसँग स्थानीय समस्याका बारेमा छलफल गर्नुभएको थियो । सो अवसरमा पैंयु क्षेत्रसँगै समग्र प्रदेश ख को विकासका लागि आफुलाई बिजयी गराउन उहाँले आग्रह गर्नुभयो । गाउँमा सुविधासम्पन्न सडक, शिक्षा, खानेपानी, सिंचाई, स्वास्थ्य लगायतका पूर्वाधारलाई आफुले प्राथमिकता दिने उहाँको भनाई छ । कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य देवेन्द्रराज पाण्डे, जिल्ला उपाध्यक्ष पदमपाणी शर्मा, उपसचिब विमल लामिछाने लगायतले सम्वोधन गर्नुभएको थियो ।