२०८२ फाल्गुन २६ , मंगलबार

ग्राहकको रकम हिनामिना भएको घटनाका दोषीविरुद्ध कारवाही अघि बढाइएको छ : माछापुच्छ्रे बैंक

सुनाखरी न्युज/ काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकको रुपन्देहीका ग्रामीण क्षेत्रमा सञ्चालित शाखारहित बैंकिङ सेवामा ग्राहकको रकम हिनामिना भएको घटनाका दोषीविरुद्ध कारवाही अघि बढाइएको जनाएको छ ।

 

बैंकले शनिबार एक विज्ञप्ति जारी गर्दै बैंकको शाखारहित बैंकिङ्ग केन्द्रबाट रकम हिनामिना भएको भन्ने समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै रुपन्देहीका ग्रामीण क्षेत्रमा सञ्चालित शाखारहित बैंकिङ सेवामा ग्राहकको रकम हिनामिना भएको घटनामा सम्बद्ध प्रतिनिधिलाई दोषी देखाएको छ। बैंकले शाखारहित बैंकिङ सेवा संचालन गर्ने प्रतिनिधिको लापरवाही भएको पाइएकाले कानुनी कारबाहीको प्रक्रिया अघि बढेको समेत जनाएको छ। बैंकले रुपन्देही जिल्ला, समरीमाई गाउँपालिका, वडा नं. ५, रोइनिहवा र लुम्बिनी सांस्कृतिक न.पा., वडा नं. २, मुजहानामा स्थानीय सर्वसाधारणहरुलाई सर्व सुलभ तरिकाले बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकिएको शर्तहरुको अधिनमा रही शाखारहित ग्राहक सेवा केन्द्र बिएलबि राखेको बताएको छ ।

 

उक्त सेवाकेन्द्रका प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको रकम रियल टाईममा रकम जम्मा हुने र सिस्टम मार्फत नै भौचर (रिसिप्ट) प्रिण्ट भई निक्षेपकर्तालाई सोही भौचर प्रदान गर्नुपर्नेमा निज प्रतिनिधिहरुले बैंक भौचरको अनाधिकृत प्रयोग गरी विभिन्न व्यक्तिहरुलाई हस्तलिखित भौचर प्रदान गर्ने र बैंकको अनलाईन सिस्टम मार्फत रकम जम्मा नै नगरी आफै रकम राख्ने गरेको कार्य कानून विपरित रहेकोमा निज प्रतिनिधिहरु बिरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित उजुरी दिएको बैंकले जानकारी गराएको छ ।

 

निज प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको भनिएको रकम आफैले खाए मासेको व्यहोरा लिखित रुपमा नै स्वीकार गरी सकेको र निज प्रतिनिधिहरुले ग्राहकको रकम व्यक्तिगत हैसियतमा दुरुपयोग गरे उपर निज प्रतिनिधिहरु स्वयं जिम्मेवार हुने र सो सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालय मार्फत आवश्यक कानूनी प्रकृया शुरु भईसकेको जानकारी गराउँदै उक्त कार्यबाट पिडित भएको भए सम्बन्धित प्रहरी कार्यालयबाट उपचारका प्रकृयामा सहभागि हुन समेत आग्रह गरेको छ ।