सुनाखरी न्युज / २४ असार, काठमाडौं – जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा सहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका छन ।
भाषण दिने क्रममा उनी ढलेपछि अस्पताल लगिएको रोयटर्सले जनाएको छ । प्राप्त जानकारी अनुसार आबे ढल्नुअघि बन्दुक पड्केको जस्तो आवाज सुनिएको थियो । आबे ढल्नासाथ उनको शरीरबाट रगत बगिरहेको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
समाचार एजेन्सी एनएचकेका अनुसार आबेलाई पछाडिबाट गोली लागेको थियो र भाषण गर्दागर्दै ढलेका थिए । उनलाई रगताम्मे अवस्थामा देखिएको थियो । उनका आक्रमणकारी हिरासतमा रहेको बताइन्छ ।
टोकियोका पूर्व गभर्नर योइची मासुजोएले एक ट्वीटमा आबे ‘कार्डियोपल्मोनरी अरेस्ट’ को अवस्थामा रहेको बताएका छन् । जापानका मिडियाहरुका अनुसार उनी बेहोस अवस्थामा छन् । समाचार एजेन्सी एनएचकेका अनुसार गोली लागेको ठाउँबाट रगत बगिरहेको थियो । त्यसपछि उनलाई हृदयाघात भएको हुनसक्ने अनुमान छ ।