
सुनाखरी न्युज/ काठमाडौं ।
पूर्वमुख्यसचिव एकनारायण अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न चार दिन म्याद थप गर्ने आदेश जिल्ला अदालत काठमाडौंले गरेको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंले अर्याललाई चार दिन हिरासतमा राख्नि अनुसन्धान गर्न पहिलोपटक प्रहरीलाई अनुमति दिएको हो । भारतको दिल्लीमा पक्राउ परेका अर्याललाई सिलगुडी हुँदै बिहीबार पूर्वी नाकाबाट नेपाल ल्याइएको थियो ।
उनलाई म्याद थपका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । उनीविरुद्ध ठगी तथा संगठित अपराधमा सीआईबीले अनुसन्धान गरिरहेको छ । मलेसियाको वैदेशिक रोजगारीको बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी अनुसन्धानमा उनीमाथि पनि अनुसन्धान सुरु भएको छ ।
मलेसिया जाने श्रमिकबाट अतिरिक्त बायोमेडिकल सेवा शुल्क लिई ठगी गरेको र त्यो रकम गैरकानुनी रूपमा मलेसिया पठाएको आरोपमाथि दुई पूर्वमन्त्रीसहित १० जना पक्राउ परिसकेका छन् ।