
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण प्रणाली भूमिगत गर्ने कार्यलाई निरन्तरता दिँदै काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणले सूचना जारी गर्दै कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा २०८३ मङ्सिर ३ गतेदेखि १४ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो । निर्धारित कार्यतालिकाअनुसार ती क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।
प्राधिकरणका अनुसार मङ्सिर ३, ६ र ८ गते बलम्बु तथा थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् कटौती हुनेछ । यस्तै, मङ्सिर ४ गते धोबीखोला–बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म र मङ्सिर ५ गते कालिमाटी तथा बाफल फिडरअन्तर्गत स्युचाटार पुल क्षेत्रमा विद्युत् सेवा बन्द हुनेछ ।
त्यसैगरी, मङ्सिर ७ गते कोटेश्वर–इमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ईडीटीआर ९ए क्षेत्रमा विद्युत् आपूर्ति रोकिनेछ । मङ्सिर ९ गते कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर २६ए र ईडीटीआर ४ तथा मङ्सिर १२ गते ईडीटीआर ८ए र ईडीटीआर ८ क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।
यसैगरी, मङ्सिर १० र १४ गते धोबीखोला–बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउन्डदेखि कालोपुलसम्मको क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । मङ्सिर ११ गते बलम्बु–थानकोट फिडरअन्तर्गत सतुङ्गलदेखि ढुङ्गे अड्डासम्म र मङ्सिर १३ गते थानकोट फिडरअन्तर्गत बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।