
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल बैंकर्स संघको नेतृत्व फेरिँदै छ ।
संघको नयाँ नेतृत्व चयनका लागि सहमति जुटेको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी संघको अध्यक्ष बन्ने भएका छन् भने कुमारी बैंकका सीईओ रामचन्द्र खनाल उपाध्यक्षको जिम्मेवारीमा आउने भएका छन् ।
संघको आगामी मंसिर १२ गते शुक्रबार आयोजना हुने ४०औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिने तयारी छ । साधारणसभाबाट औपचारिक निर्णय भएपछि रेग्मीले संघको नेतृत्व सम्हाल्नेछन् ।
हाल संघको उपाध्यक्ष रहेका रेग्मीलाई अध्यक्ष बनाउने र उनको स्थानमा खनाललाई उपाध्यक्ष चयन गर्ने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूबीच सहमति जुटेको बताइएको छ । यससँगै संघको आगामी कार्यकालका लागि नेतृत्व चयन प्रक्रिया सहमतिमार्फत अघि बढ्ने देखिएको छ ।
नेपाल बैंकर्स संघ वाणिज्य बैंकहरूको साझा संस्था हो ।
संघको नयाँ कार्यसमितिमा केही सदस्यसमेत परिवर्तन हुने तयारी छ । एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ र लक्ष्मी सनराइज बैंकका पूर्वसीईओ अजयविक्रम शाह कार्यसमितिबाट बाहिरिने तथा सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवन आचार्य नयाँ सदस्यका रूपमा आउने बताइएको छ ।