
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालको पहिलो केबलकार मनकामना केबलकारले २८ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । चितवन को–इ समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेको छ ।
२०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको मनकामना केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा अग्रणी भूमिका खेल्दै आएको छ । समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र पहलमा स्थापना भएको केबलकारले मनकामना मन्दिरसम्मको धार्मिक यात्रालाई सहज बनाउनुका साथै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको छ ।
यसै अवसरमा चितवन को–इ समूहअन्तर्गत सञ्चालित मनकामनाको पहिलो लक्जरी होटल मनकामना हिलक्रेस्ट रिसोर्टले पनि पहिलो वर्षको सञ्चालन पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । रिसोर्ट्स बाई मनकामना केबलकार प्रालिद्वारा सञ्चालित रिसोर्ट गत वर्ष मंसिर ८ गते औपचारिक रूपमा सञ्चालनमा आएको थियो ।
मनकामनामा सुविधासम्पन्न र आरामदायी आतिथ्य सेवा उपलब्ध गराउँदै यस क्षेत्रलाई धार्मिक पर्यटनभन्दा बाहिर पनि आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित रिसोर्ट सञ्चालन गरिएको कम्पनीले जनाएको छ । रिसोर्टको पहिलो वर्षको व्यावसायिक उपलब्धि सन्तोषजनक र उत्साहजनक रहेको कम्पनीको भनाइ छ ।
स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको दीर्घकालीन परिकल्पना र योजनामा तयार भएको रिसोर्ट निर्धारित समयभन्दा केही ढिलो सञ्चालनमा आए पनि उहाँप्रतिको सम्मान र समर्पणस्वरूप केबलकार सञ्चालन भएकै दिन औपचारिक उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।
दुवै संस्थाले वार्षिकोत्सवका अवसरमा संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको दूरदृष्टिअनुसार पर्यटन तथा आतिथ्य क्षेत्रमा नयाँ सम्भावना विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।
मनकामना केबलकार र हिलक्रेस्ट रिसोर्टले आगामी दिनमा सेवा, गुणस्तर र पाहुनाको अनुभवलाई थप स्तरीय बनाउने लक्ष्य लिएका छन् । कम्पनीले केबलकारका यात्रु, रिसोर्टका पाहुना, कर्मचारी, स्थानीय समुदाय, सरकारी निकाय, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी तथा अन्य साझेदारको निरन्तर सहयोगप्रति आभार व्यक्त गरेको छ ।
केबलकार र रिसोर्ट दुवैको सञ्चालनले मनकामनालाई धार्मिक गन्तव्यका रूपमा मात्र सीमित नराखी बसाइ, आतिथ्य र अन्य पर्यटकीय गतिविधिसहितको पूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने समूहको अपेक्षा छ ।