२०८३ मंसिर ६ , शनिवार

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, अव कति घट्ला ?

Gold-Silver

सुनाखरी न्युज/ काठमाडौं ।

सुनको मूल्य यतिबेला १४ महिनायताकै न्यून बिन्दुमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा गत वर्षको माघ १५ गते कारोबारका क्रममा प्रतिऔंस ५५९० अमेरिकी डलरसम्म पुगेको सुन हाल ३५५० हाराहारीमा छ।

यता नेपालको बजारमा गत वर्षको माघ १५ गते नै रेकर्ड मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन हाल २ लाख ४५ हजार २ सय रुपैयाँमा झरेको छ । यो अवधिमा सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ घटिसकेको छ ।

 

करिब १० महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यबाट सुन ३६ प्रतिशत घटेको छ भने नेपाली बजारमा २७.७ प्रतिशत घटेको छ । अमेरिकी डलरको मूल्यवृद्धि तथा बजेटमार्फत भन्सार दर १० बाट २० प्रतिशत पुर्‍याइँदा अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा मूल्य कम घटेको देखिन्छ ।

चाँदीको अवस्था झन् कमजोर छ । माघ १५ गते नेपालमा प्रतितोला ७ हजार ५ सय रुपैयाँ पुगेको चाँदी हाल आधाभन्दा धेरै घटेर ३ हजार ११० रुपैयाँमा झरेको छ । यहीं अवधिमा अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस १२१ अमेरिकी डलरबाट ४२ मा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मागभन्दा आपूर्ति बढेपछि मूल्य घटेको व्यवसायी बताउँछन् ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको आगामी डिसेम्बर ८ र ९ मा बस्ने बैठकले ब्याजदर बढाउने छ ।

अमेरिकामा मुद्रास्फीति अपेक्षाअनुसार नियन्त्रणमा नआएपछि फेडले डिसेम्बरमा ब्याजदर बढाउन लागेको हो । रोयटर्सका अनुसार डिसेम्बरमा फेडले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाउने सम्भावना ९६.८ प्रतिशत र ०.५० प्रतिशत बिन्दुले बढाउने सम्भावना ३.२ प्रतिशत छ ।

डिसेम्बरमा मात्रै होइन, त्यसपछि पनि ब्याजदर बढ्ने सम्भावना बलियो नै रहेकाले सुनको मूल्यमा अत्याधिक दबाब परेको रोयटर्सले उल्लेख गरेको छ ।

‘