
सुनाखरी न्युज/ काठमाडौं ।
पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणापछि बंगलादेशमा राजनीतिक तनाव चुलिएको छ ।
प्रतिबन्धित अवामी लिगले आह्वान गरेको ‘लकडाउन’ अघि र पछि राजधानी ढाकासहित देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी र झडपका घटना भएका छन् । घटनामा मानवीय क्षतिसमेत भएको बंगलादेशका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ढाकामा अवामी लिगका दुई नेताको घरमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताले आक्रमण गरी आगजनी गरेको समाचार छ ।
बंगलादेशका ६४ प्रशासनिक जिल्लामध्ये २८ जिल्लामा दर्जनौं घरेलु बम विस्फोट भएका छन् । विभिन्न स्थानमा सवारीसाधनमा समेत आगजनी गरिएको छ ।
हिंसाका घटनामा राजधानी ढाकामा कम्तीमा चार जना घाइते भएका छन् । पश्चिमी नराइल जिल्लामा अवामी लिगका कार्यकर्ताले बीएनपीको र्यालीमाथि गरेको आक्रमणमा सत्तारुढ दलका दुई स्थानीय नेताको मृत्यु भएको समाचारमा जनाइएको छ ।
त्यस्तै, फरीदपुर र पिरोजपुरमा एक बीएनपी नेता र एक यातायात मजदुरको पनि मृत्यु भएको छ ।
अवामी लिगले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा विशेष न्यायाधिकरणले अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको एक वर्ष पुगेको अवसरमा लकडाउन आह्वान गरेको हो ।
सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन अर्थात् जुलाई विद्रोहपछि सत्ताच्युत भएकी हसिना हाल भारतमा बस्दै आएकी छन् ।