
सुनाखरी न्युज/ काठमाडौं ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु बधशाला तथा मासु जाँच ऐनको कार्यान्वयन सुरु गरेको छ । आमउपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मासुजन्य खाद्यपदार्थको स्वच्छता, गुणस्तर र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले ऐन कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाएको हो ।
उपभोक्ताले स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु उपभोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्ने उद्देश्यले कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा ल्याएसँगै छाप लगाउने कार्य सुरु गरिएको हो।मंगलबारदेखि काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न स्थानमा ऐन कार्यान्वयन सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा कुखुरा, राँगा र खसीको मासु परीक्षण गरी स्वस्थ मासुमा छाप लगाउन थालिएको हो । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मासुको स्वच्छता र गुणस्तर खाद्य पदार्थको विषय मात्र नभई नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएको बताइन् । उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउनुपर्ने भन्दै उनले ऐनको कार्यान्वयनलाई सुरुवातमा मात्र सीमित नराखी निरन्तरता दिने योजना रहेको बताइन् ।