२०८३ मंसिर २ , मंगलबार

भाटभटेनी टंगाल शाखा आजदेखि चौबिसै घण्टा खुला

Bhatbhateni

सुनाखरी न्युज/ काठमाडौं ।

भाटभटेनी सुपरस्टोरको टंगाल शाखा आजदेखि चौबिसै घण्टा खुला भएको छ ।

भक्तपुरको राधेराधेबाट भाटभटेनीको चौबिसघण्टे सेवा सुरु भएको थियो ।

ग्राहकहरूले रातिको समयमा पनि किनमेल गर्न सकुन् भन्ने उद्देश्यले टंगाल शाखा चौबिसै घण्टा खुला गरिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी दिए ।

 

 

४२ वर्षअघि व्यवसायी मिनबहादुर गुरुङले काठमाडौं टंगालबाट सुरु गरेको भाटभटेनी सुपरस्टोरका हाल देशभरि २७ वटा स्टोर सञ्चालनमा छन् । भाटभटेनीले वार्षिक ३२ अर्ब रुपैयाँ बराबर आम्दानी गर्दै आएको छ भने सबै स्टोरमा गरी २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

 

२३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । जसबाट कम्पनीलाई अर्बौं रुपैयाँ बराबर क्षति भएको थियो ।

त्यति ठूलो क्षति हुँदाहुँदै पनि भाटभटेनीले एक जनाको पनि रोजगारी नखोसी पुनस् लगानी गरेर लगभग सबै स्टोर सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

टंगालस्थित भाटभटेनी सुपरस्टोर पनि जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

 

मर्मत तथा पुनर्निर्माण सम्पन्न गरी गत असोज ५ गतेदेखि टंगाल शाखा ग्राहकहरूका लागि औपचारिक रूपमा खुला गरिएको थियो ।

टंगालको सोही भाटभटेनी सुपरमार्केट आजदेखि चौबिसै घण्टा खुला गरिएकाले ग्राहकहरूले आफ्नो अनुकूल समयमा किनमेल गर्न सक्नेछन् ।