
सुनाखरी न्युज/ स्याङ्जा ।
नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली काङ्ग्रेस जीवित रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने स्पष्ट पारेका छन्। उनले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्।
नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै महामन्त्री पौडेलले लोकतन्त्रको वकालत गर्ने काङ्ग्रेस पार्टीको आवाज दबाउने विभिन्न प्रयास भइरहेको बताए।
निर्वाचन जित्दैमा कानुन मिच्ने लाइसेन्स प्राप्त नहुने उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको कदर गर्नुपर्नेमा जोड दिए। काङ्ग्रेसलाई कमजोर बनाएर देशको लोकतन्त्र नै कमजोर पार्ने खेल भइरहेको भन्दै उनले मुद्दा हाल्दैमा पार्टी वा नेतृत्वमा असर नपर्ने बताए। राजनीतिक विषयलाई अनावश्यक रूपमा कानुनी प्रक्रियासँग जोडेर भ्रम सिर्जना गर्न नहुने उनको धारणा थियो।
वर्तमान सरकार नागरिकको जनस्तरसम्म पुगेर काम गर्न असफल भएको आरोप लगाउँदै महामन्त्री पौडेलले संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितको समस्या तथा सुकुम्बासी समस्या समाधानमा सरकारको अपरिपक्वता देखिएको बताए। सरकार क्रमशः नागरिकको विश्वास गुमाउँदै गएको उनको भनाइ थियो।