
सुनाखरी न्युज/ अमेरिका —
एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि अमेरिकाभरका उडान रोकिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै समस्या साइबर आक्रमण वा एआईका कारण भएको जस्तो नदेखिएको बताएका छन् ।
सन् २००१ सेप्टेम्बर ११ (९-११) को आतंकवादी आक्रमणपछि अमेरिकी हवाई सेवामा पहिलोपटक यति व्यापक असर परेको अधिकारीहरूले बताएका छन् ।
अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) का पूर्वप्रमुख रोबर्ट एल. समवाल्टले सन् २००१ को आक्रमणपछि अमेरिकी उडानमा यति व्यापक अवरोध कहिल्यै नभएको बताएका छन् । सीबीएस न्युजसँग कुरा गर्दै उनले आधुनिक प्रविधिको युगमा पनि यस्तो समस्या आउनु आश्चर्यजनक भएको बताए ।
अमेरिकी गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले घटनापछि अमेरिकामाथि कुनै आक्रमण भएको संकेत नरहेको र सबै सुरक्षित रहेको बताएका छन् । उनले यो घटना अर्को ९-११ नभएको भन्दै सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गरेका छन् ।
ह्वाइट हाउसको पत्रकार सम्मेलनमा मन्त्री मुलिनले यो समस्या माइक्रोसफ्टको प्रणालीमा अघिल्लो दिन आएको अवरोधसँग सम्बन्धित रहेको दाबी पनि अस्वीकार गरेका छन् । प्रशासनले उडान अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई सहयोग गर्न र सबैको सुरक्षा सुनिश्चित गर्न तीव्र गतिमा काम गरिरहेको उनको भनाइ छ । उनले सर्वसाधारणको ज्यान कहिल्यै जोखिममा नरहेको पनि बताएका छन् ।