२०८३ कार्तिक २० , बिहिवार

ममता काफ्ले बेपत्ता प्रकरणमा नरेश भट्टको बयान :आफूहरूबीच शारीरिक कुटपिट कहिल्यै नभएको दाबी

Mamata-Kafle

 

सुनाखरी न्युज/ काठमाडौं ।

नर्स ममता काफ्ले भट्टको हत्याको आरोपमा मुद्दा खेपिरहेका उनकै श्रीमान् नरेश भट्टले अदालतमा आफैँ साक्षीका रूपमा उपस्थित भएर बयान दिएका छन् । यद्यपि उनले वैवाहिक सम्बन्ध बिग्रिएको स्वीकार गर्दै आफूले ममतालाई मानसिक तथा भावनात्मक तनाव दिएको बताएका छन्। सुनुवाइका क्रममा नरेशले आफू र ममताबीचको वैवाहिक सम्बन्ध, पारिवारिक जीवन र आपसी सम्बन्धबारे बयान दिएका हुन् ।  अमेरिकी सञ्चारमाध्यम फक्स ५ डीसीका अनुसार उनले विवाहका सुरुका दुई वर्ष निकै सुखद रहेको बताएका छन् । अदालतमा बयान दिँदा नरेशले आफू धेरै आशावादी र थोरै नर्भस भएको उल्लेख गरे ।

आफ्नो अंग्रेजी भाषाको क्षमताका कारण न्यायाधीश र जुरी सदस्यहरूले आफूले भन्न खोजेको कुरा बुझ्न सक्ने हुन् कि होइनन् भन्ने चिन्ता पनि उनले व्यक्त गरेका थिए । प्रश्न बुझ्न र जवाफ दिन सहजताका लागि उनीसँग दोभाषे पनि उपस्थित थिए ।सरकारी वकिल ट्रेसी लेनोक्सले ममता बेपत्ता हुनुभन्दा केही महिनाअघिका दम्पतीबीच भएका टेक्स्ट म्यासेज देखाउँदै नरेशलाई शारीरिक हिंसाको धम्की दिएकोबारे प्रश्न गरेकी थिइन्।

जवाफमा नरेशले भने, ‘शारीरिक हिंसा होइन, मानसिक  ( भावनात्मक )  तनाव दिने काम गरेको थिएँ।’ नरेशका अनुसार सन् २०२४ को सुरुवातदेखि उनीहरूबीच दैनिकजसो झगडा हुने गरेको थियो। आफूले ममतालाई सम्बन्धविच्छेद गर्ने धम्की दिने र ममताले आत्महत्या गर्ने धम्की दिने गरेको उनले बताए। कहिलेकाहीँ ममताले पकाएको खाना नखाने र उनीसँग बोलचालसमेत बन्द गर्ने गरेको पनि उनले स्वीकार गरे।

तर ममताका भाइ महेश काफ्लेले यसअघि अदालतमा बयान दिँदै ममताले आफ्नो अनुहारमा चोट र नीलडाम देखिने तस्बिर पठाएको बताएका थिए। ममताले आफू घरमा सुरक्षित नरहेको भन्दै पटकपटक बताउने गरेको उनको भनाइ थियो। ममताकी साथी सरिता न्यौपानेले पनि नरेशले कुटपिट गर्ने गरेको कुरा ममताले आफूलाई सुनाएको बयान दिएकी थिइन्।

अदालतमा नरेशले ममतासँग फेसबुकमार्फत चिनजान भएको र एक–दुई साताको कुराकानीपछि विवाह गर्ने निर्णयमा पुगेको बताए। विवाहपछि सुरुका दिन सुखद रहे पनि छोरी जन्मिएपछि सम्बन्धमा परिवर्तन आएको उनको दाबी थियो। ममताको व्यवहारमा परिवर्तन आएको र सानातिना विषयमा पनि विवाद हुने गरेको उनले बताए।

ममताको मानसिक स्वास्थ्यमा समस्या हुन सक्ने आफूलाई अहिले लागे पनि त्यतिबेला गम्भीरतापूर्वक ध्यान नदिएको उनले स्वीकार गरे। उनले ममतासँगको सम्बन्धलाई निकट र एकअर्कामा निर्भर रहेको सम्बन्धका रूपमा चित्रण गरे । ममता अमेरिका आएपछि उनको पढाइ, जागिरका लागि आवेदन, कागजी प्रक्रिया र सवारी चलाउन सिक्नेसम्मका काममा आफूले सहयोग गरेको नरेशले बताए ।

घरायसी जिम्मेवारीमध्ये धेरै काम आफूले सम्हाल्ने गरेको नरेशको जिकिर थियो । ममताका साथीहरू आफूभन्दा धेरै रहेको र उनले साथी बनाउन वा पैसा प्रयोग गर्न आफूले रोकटोक नगरेको पनि उनले अदालतमा बताए । दुवैबीच कहिलेकाहीँ भनाभन हुने गरे पनि त्यस्ता विवादका विशेष घटना आफूलाई सम्झना नभएको र ती कुरा सम्झिरहनुपर्ने खालका नभएको नरेशको भनाइ थियो ।

नरेशले ममतासँगको चिनजान र विवाहको प्रसंग पनि अदालतमा सुनाए । नेपालमा अर्कै युवतीसँग बिहे गर्न लाग्दा ‘चिना नमिलेर’ रोकिएको र ती युवतीकै रुममेट ममतासँग सन् २०२० मा फेसबुकमार्फत सम्पर्क भएको उनको बयान थियो । नरेशका अनुसार ममतासँग एकदेखि दुई सातासम्म कुराकानी गरेपछि विवाह गर्ने निर्णयमा पुगेका थिए । परिवारमा मृत्यु भएपछि सुरुमा तय भएको विवाहको मिति सार्नुपरेको र पछि त्यही वर्ष विवाह भएको उनले बताए । विवाहपछि पारिवारिक सहमतिमै ममतालाई अमेरिका ल्याइएको थियो ।