
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता रोक्ने घोषणा गरेका छन् । उनले यस वर्षको अन्त्यपछि इजरायललाई दिइँदै आएको आर्थिक सहायता रोक्ने बताएका हुन् ।
राष्ट्रपति ट्रम्पका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्षिक सहायता रोक्ने विषयमा सहमति भएको छ । यद्यपि, अमेरिकाले इजरायललाई हतियार बिक्री भने जारी राख्नेछ ।
आवश्यक परेको अवस्थामा इजरायललाई सहयोगसमेत गर्ने ट्रम्पले स्पष्ट पारेका छन् ।
फक्स न्युजको कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स’ मा बोल्दै ट्रम्पले यस वर्षको अन्त्यसम्म इजरायललाई आर्थिक सहायता दिन बन्द गरिने बताएका हुन् । तर, डिसेम्बरभित्रै सहायता कसरी रोक्ने भन्नेबारे उनले विस्तृत जानकारी दिएका छैनन् ।
अमेरिका र इजरायलबीचको वर्तमान सैन्य सहायता सम्झौता भने सन् २०२८ को सेप्टेम्बरसम्म कायम छ । उक्त सम्झौताअनुसार अमेरिकाले इजरायललाई प्रत्येक वर्ष ३ अर्ब ८० करोड अमेरिकी डलर सैन्य सहायता उपलब्ध गराउँदै आएको छ ।