
सुनाखरी न्युज/ काठमाडौं ।
देशभरका उपभोक्तालाई जुनसुकै कम्पनीको खाना पकाउने ग्यास सिलिन्डर साटेर दिन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । रिटमा खाना पकाउने ग्यासको कृत्रिम अभाव, कालोबजारी र सिलिन्डर साट्दा उपभोक्ताले भोग्नुपरेको हैरानी अन्त्य गर्न जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को जुनसुकै कम्पनीको सिलिन्डर लिन पाउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
ग्यास कम्पनी र डिलरको मिलेमतोमा ग्यासको अभाव सिर्जना गरी उपभोक्तालाई फरक कम्पनीको सिलिन्डर महंगो मूल्य तिरेर किन्न बाध्य पारिएको रिटमा उल्लेख छ । संविधानको धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने हक र धारा ४४ को उपधारा ( १ ) प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक र उपधारा ( २) को गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक वञ्चित गरिएको हुनाले उपभोक्ता अधिकार सुनिश्चित गरिनुपर्ने माग गरिएको छ ।
सरकारले ग्यासलाई अत्यावश्यक वस्तुको सूचीमा राखेको भए पनि दसैँ–तिहारजस्ता चाडपर्वमा समेत कालोबजारी हुँदा विद्यार्थी, मजदुर तथा सर्वसाधारण उपभोक्ता मारमा परेको रिटमा उल्लेख छ। यस प्रकारको ठगी रोक्न जुनसुकै कम्पनीको ग्यास तत्काल साट्न पाउने व्यवस्था मिलाउन अन्तरिम आदेशको समेत माग गरिएको छ।
दशकौँदेखि उपभोक्ताहरू ग्यास कालोबजारीको सिकार हुन बाध्य भएको उल्लेख गर्दै निवेदक पोखरेलले एउटै व्यक्ति तथा परिवारले दर्जनौँ उद्योग सञ्चालन गरेर सिन्डिकेट चलाएकाले त्यसलाई कानुनी रूपमै रोक्नुपर्ने बताएका छन्। उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ।